सुबास बस्नेत
दोलखा, पुस १८
किबी बिक्री गर्न भन्दै बुधबारदेखि सुरु भएको महोत्सवमा भन्दा चरिकोट बजारको स्थानीय सटरपसलमा सस्तोमा पाउन थालेपछि महोत्सव किबी व्यापार घटेको छ । चरिकोटका व्यापारीले प्रतिकेजी २०/३० रूपैयाँ सस्तोमा किबी बिक्री गर्न थालेपछि महोत्सवमा भन्दा सटरवाला पसलमा किबी किन्ने पर्यटकहरूको भीड लाग्ने गरेको चरिकोट बजारका व्यापारी चित्र दाहालले बताए ।
दाहालले स्थानीय तीन जातको किबी बिक्री गर्न स्टलजस्तै गरी राखेर बिक्री गर्न सुरु गरेका छन् । किबी बिक्री तथा प्रचारका लागि भन्दै भिमेश्वर नगरपालिकाले चरिकोटमा बुधबारदेखि सात दिनसम्म महोत्सवको आयोजना गरेको छ । महोत्सवमा पहिलो ग्रेड र राम्रो जातको मानिने हेवार्ड जातको किबीको मूल्य तीन सय रहेको छ । त्यस्तै दोस्रो ग्रेडको एलिसन जातको मूल्य दुई सय ५० रूपैयाँ र तेस्रो ग्रेड अन्तरगतको मेन्टी जातको किबी दुई सय रूपैयाँ रहेको छ ।
तर, दाहाले सबै ग्रेडको किबी महोत्सबको भन्दा कम मूल्यमा बिक्री वितरण गर्दै आइरहेका छन् । उनले बिगु गाउँपालिकको लादुक र शैलुङ गाउँपालिकाका विभिन्न ठाउँबाट किबी ल्याएर बिक्री गर्ने गरेको बताए । किबी व्यापारी दाहाले अपसिजनमा पनि बिक्री गर्नका लागि भनेर करिब सात सय किबी भण्डारण गरेर राखेको बताए । उनले अन्य दिनको तुलनामा महोत्सव सुरु भएपछि भने ५० केजी बढी बिक्री भएको बताए ।