बाँके, पुस १८
महावीर पुनको परियोजनाका लागि अभियान सञ्चालन गरी संकलन गरिएको रकम नेपालगञ्ज ग्यालरीले बुझाएको छ । सूचना प्रविधि अभियन्ता महावीर पुनको परियोजनाको लागि नेपालगञ्ज ग्यालरीले केही हप्ताअघि ह्यासट्याग ‘नेपालगञ्ज ग्यालरी महावीर पुनलाई सहयोग गरौ अभियान’ सुरु गरेको थियो ।
त्यसै अभियानमार्फत ५९ जना ग्यालरीका सदस्यहरुबाट संकलित गरिएको एक लाख २८ हजार ७ सय ५१ रुपैयाँ बिहीबार राष्ट्रिय आविष्कार केन्द्रमा गई बुझाइएको नेपालगञ्ज ग्यालरीका एडमिन समिरमान श्रेष्ठले जानकारी दिए । संकलित रकम बुझाउनको लागि नेपालगञ्ज ग्यालरीका सक्रिय सदस्य विवेक श्रेष्ठ राष्ट्रिय आविस्कारक केन्द्र काठमाडौं पुगेका थिए । उनले महावीर पुनलाई प्रत्यक्ष भेटेर संकलित रकम बुझाएका हुन् ।
सूचना प्रविधि अभियन्ता महावीर पुनले आफूलाई बैंकले ऋण दिन नपत्याएको गुनासो गर्दै केही हप्ताअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पुनले आफूलाई दुईवटा परियोजनाको लागि तीन करोड रुपैयाँ आवश्यक परेको तर नेपाली बैंकले नपत्याएको बताएपछि पुनको परियोजनालाई सहयोग गर्ने उद्देश्यले नेपालगञ्ज ग्यालरीले अभियान सुरु गरेको सक्रिय सदस्य विवेक श्रेष्ठले बताए । महावीर पुनले तीन वर्षपछि रकम फिर्ता दिने बताए पनि हाम्रो टिमले पुनले गरेको कार्यको सम्मान गर्दै रकम पछि फिर्ता नलिने मनसायले संकलित रकम बुझाएको ग्यालरीका एडमिन समिरमान श्रेष्ठले बताए ।