काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आईएमई ‘भरोसा कोष’को रकम गण्डकी प्रदेशमा पनि वितरण सुरू गरिएको छ । कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।
गत शुक्रबार गण्डकी प्रदेशको पर्वतमा आयोजित एक विशेष कार्यक्रमका बीच आईएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आईएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि किशोर शर्माले संयुक्त रूपमा आवेदक स्व. सन्तोष लामिछानेका बुवा दोलक राज जैसीलाई चेक हस्तान्तरण गरेका थिए ।
आईएमई पे वालेटमार्फत रकम भुक्तान लिनसक्ने पनि व्यवस्था मिलाइएको कोषको सहयोग राशि पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ । कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरी आईएमईले मृतकको परिवारको पीडामा केही सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोषको स्थापना गरिएको हो ।