काठमाडौं, पुस १८
कामना सेवा विकास बैंक लिमिटेडले १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले बिहीबारका काठमाडौँं डिल्लीबजारस्थित अमृतभोग पार्टीप्यालेसमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । प्रविधिको स्तरोन्नति, नयाँ ग्राहक भित्र्याउन तथा व्यवसाय विस्तारको निमित्त बृहत् शाखा सञ्जाल एवं दक्ष तथा अनुभवि जनशक्ति प्राप्तिमा गरिएको लगानी आदिका बाबजुद यस आर्थिक वर्षको नाफाबाट छ दशमलव आठ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए । सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी दुुई अर्ब ५४ करोड एक लाख ९५ हजार तीन सय ५२ रूपैयाँको छ दशमलव आठ प्रतिशतका दरले हुनआउने रकम १७ करोड २७ लाख ३३ हजार दुुई सय ८४ रूपैयाँ नगद लाभांश पारित गरेको छ ।
बैंकका अध्यक्ष आचार्यले सभामा बैंकको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू र देशको आर्थिक तथा बैकिङ क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गरेका थिए । साथै, बैंकले गरेका रणनीतिक लगानीबाट भविष्यमा दिगो प्रतिफल आर्जन गरी बैंकलाई अझै सवल, सक्षम र सुरक्षित बैंकको रूपमा स्थापित गर्नमा टेवा पुग्ने उक्त साधारणसभामा बताए । सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएका लक्ष्यहरू हासिल हुनेगरी कार्यक्रम सञ्चालन गरेको तथा यस बैंकको दीर्घकालीन रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्यधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रूपमा स्थापित गराउने कार्ययोजनासहित अगाडि बढेको बतााए ।
बैंकका अध्यक्ष आचार्यको सभापतित्वमा बसेको साधारणसभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले सेयरधनीलगायत उपस्थित सबैलाई मन्तव्यमार्फत स्वागत गरेका थिए भने सञ्चालक भिमप्रसाद तुलाचनले धन्यवादज्ञापन गरेका थिए । सेयरधनीहरूले उठाएका भएका विभिन्न जिज्ञासाहरूको जवाफ बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत बस्नेतले दिएका थिए भने कार्यक्रमको सञ्चालन कम्पनी सचिव हरिप्रसाद लम्सालले गरेका थिए ।
बैंकले हाल देशका विभिन्न भागहरूमा एक सय १४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरूलाई आफनो सेवाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरूपमा आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।