आशिष बहादुर सिंह
बझाङ, पुस २०
वर्षासँगै भएको हिमपातका कारण सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित बनेको छ । बझाङलगायत सुदूरपश्चिमका सबै पहाडी हिमाली जिल्लामा अहिलेसम्मकै भारी हिमापात भएको छ । हिमपातले यस क्षेत्रको जनजीवन कष्टकर हुनुका साथै विद्युत्, टेलिफोन सेवा तथा यातायात समेत बन्द भएको छ । यो हिमापात १० वर्षपछिकै ठूलो भएको स्थानीयबासीको भनाइ छ । हिउँले बझाङको सबैभन्दा गहिरो भागमा रहेको चैनपुरमा समेत हिमपात भएको छ ।
यातायातका साधन बन्द हुँदा धनगढी, महेन्द्रनगर, काठमाडौंलगायत जिल्ला बाहिर जाने र यात्रु अलपत्र परेका छन् । डडेल्धुरादेखि बझाङको सुनकुडासम्मको सडकमा ५ फिट हिमपात भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । त्यस्तै हिमपातले क्षति गरेका कारण सुदूरपश्चिमको पहाडी जिल्लामा नेपाल टेलिकमको सम्पूर्ण फोन तथा ल्याण्डलाइनको एडिएसएल सेवा अवरुद्ध भएको छ । टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला बझाङ बाजुरालगायतका जिल्लामा शुक्रबारदेखि सञ्चार सम्पर्कविहीन हुनपुगेका छन् ।
बिहीबार दिउँसोदेखि परेको बाक्लो हिमपातका कारण नेपाल टेलिकमको डडेल्धुरास्थित काफली टावरमा खराबी आउँदा यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा र डोटीमा फोन सेवा तथा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ । यस्तै, डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा समेत अवरुद्ध छ । हिमपातका कारण विद्युत् सेवा अवरुद्ध भएको हो । अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालनमा ल्याउनको लागि कर्मचारी खटाइएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ ।