काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्द्धनको लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र दि हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दि हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरेका हुुन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ सेवाको बारेमा ग्राहकहरूमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२० श्रेष्ठलाई नियुक्त गरिएको बताए । सो कार्यक्रममा दि हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।
सो कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठले आफू सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताइन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन ईश्वर उप्रेतीले गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, बैंक व्यवस्थापन समितिका सदस्यहरू, दि हिडेन ट्रेजरका निर्देशकद्वय सुवर्ण क्षेत्री, प्रमोद कंसकारलगायत बैंक कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले गत आव २०७६/७७ मा चार अर्ब ४५ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप दुईखर्ब ३० अर्ब रुपैँया, कर्जा एक खर्ब ५० अर्ब रुपैयाँ र हालको बेस रेट पाँच दशमलव ७४ प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदशस, ७७ जिल्लामा दुई सय ४५ वटा शाखा कार्यालय, दुई सय पाँचवटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।