काडमाडौं, पुस २०
यस साता सेयर बजार परिसूचक ११ सय ६६ दशमलव २१ अंकमा पुगेर रोकिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ५२ दशमलव १८ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७३ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ३३ हजार तीन सय ६७ वटा कारोबारमा ७१ लाख ८४ हजार छ सय ३९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम दुई अर्ब एक करोड २० लाख ६५ हजार ५५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो । गत साता भने धितोपत्र बजारमा एक सय ७२ कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार ३५ हजार तीन सय ६२ वटा कारोबारमा ८५ लाख ९५ हजार पाँच सय ३१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार छ सय ९० रुपैयाँ पुगेको थियो ।
यस साता पहिलो दिन बजार परिसूचक चार दशमलव ९९ अंकले ओरालो लागेर ११ सय ६२ दशमलव ४३ अंकमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९८ अंकले ओरालो लागेर दुई सय ५३ दशमलव ३९ अंकमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक पाँच दशमलव ५३ अंकले उकालो लागेर ११ सय ६७ दशमलव ९५ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव शून्य छ अंकले ओरालो लागेर दुई सय ५३ दशमलव ३३ अंकमा झरेको थियो । तेस्रो दिन भने बजार परिसूचक ओरालो लागेको थियो ।
उक्त दिन बजार परिसूचक एक दशमलव ९२ अंकले ओरालो लागेर ११ सय ६६ दशमलव तीन अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शून्य एक अंकले ओरालो लागेर दुई सय ५२ दशमलव ३१ अंकमा झरेको थियो । चौंथो दिन भने बजार परिसूचक तीन दशमलव ४७ अंकले उकालो लागेर ११ सय ६९ दशमलव ४० अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९७ अंकले उकालो लागेर दुई सय ५३ दशमलव २८ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक तीन दशमलव २९ अंकले ओरालो लागेर ११ सय ६६ दशमलव २१ अंकमा झरेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव एक अंकले ओरालो लागेर दुई सय ५२ दशमलव १८ अंकमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्रालि आदि परेका छन् । यसैगरी सेयर कारोबार भएको संख्यामा आधारमा भने शिवम सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सोल्टी होटल आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने यस साता हिमालयन बैंकको १० प्रतिशत डिबेञ्चर २०८३ र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयरा सूचीकृत भएका छन् ।