काठमाडौं ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले सात सय ४९ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पाँच महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरूको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या चार मात्र रहेको छ । जसमध्ये ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका, धादिङ जिल्लाको रुबीभ्याली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका समेत गरी चारवटा जिल्लाको चार स्थानीय तहमा वाणिज्य बैंकहरूको शाखा पुग्न बाँकी देखिएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल संख्या भने यस अवधिमा एक सय ४४ कायम भएको छ । सो अनुुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक, २१ वटा फाइनान्स कम्पनी, ७६ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७७ मंसिर मसान्तसम्ममा कुल दुई सय ११ वटा बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये एक सय ५९ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ५२ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुुल शाखा संख्या भने १० हजार ८६ पुुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको कुल शाखा संख्या चार हजार पाँच सय ८५ वटा, विकास बैंकहरूको एक हजार ३२ वटा, फाइनान्स कम्पनीहरूको दुई सय ५३ वटा र लघुुवित्त वित्तीय संस्थाहरूको चार हजार दुई सय १६ वटा शाखाहरू सञ्चालनमा छन् । राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो भने २०७७ असार मसान्तमा यस्तो संख्या नौ हजार सात सय ६५ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०७७ को मंसिर मसान्तसम्ममा प्रदेश १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा बैंकहरूको शाखा पुगेको छ । प्रदेश २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरूको शाखा पुगेको छ । वाग्मती प्रदेशमा एक सय १९ स्थानीय तह रहेकोमा एक सय १८ स्थानीय तहमा बैंकहरूको शाखा पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८५ स्थानीय तहमा बैंकहरूको शाखा पुगेको छ । लुम्बिनी प्रदेशमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरूको शाखा पुुगेको छ । यसैगरी कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरूको शाखा पुुगेको छ । सुदूरपश्चिम प्रदेशमा भने ८८ स्थानीय तह रहेकोमा ८७ स्थानीय तहरूमा बैंकहरूको शाखा पुगेका छन् ।