काडमाडौं, पुस २०
ज्योति विकास बैंकले एकै दिन तीनवटा नयाँ शाखाको औपचारिक समुदघाटन गरेको छ । बैंकले काठमाण्डौ महानगरपालिकाको रातोपुल, नागार्जुन नगरपालिकाको सीतापाईला र ललितपुर महानगरपालिकाको झम्सीखेलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो । बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ ज्योति विकास बैंकले तीन नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ललितपुर महानगरपालिका वडा नं ३ झम्सीखेल स्थित बैंकको नयाँ शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन । उद्घाटनमा बोल्दै महर्जनले बैंकिङ्ग क्षेत्र निकै संवेदनशील रहेकोर राष्ट्र बैंकको नियम र अनुशासनमा रहनुपर्ने व्यवस्थाको बीच यस क्षेत्र सशक्त रुपमा अघि बढेको कुरामा जोड दिए । साथै उनले ज्योति विकास बैंकले पनि सोहि अनुरुपको अनुशासनमा रही उत्कृष्ट सेवा पुर्याउनेमा आफू विश्वस्त रहेको बताए ।
त्यस्तै बैंकको नागार्जुन नगरपालिका वडा नं ४ सीतापाइलास्थित शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष तथा संस्थापक सेयरधनी ध्रुव कुमार उप्रेतीले गरेका हुन । साथै, बैंकको काठमाण्डौ महानगरपालिका वडा नं ७, रातोपुल शाखाको उद्घाटन सञ्चालक समितिका सदस्य जगदीश्वर प्रसाद अधिकारीले गरेका हुन । उद्घाटन समारोहमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले ज्योति विकास बैंकले आवश्यक न्यूनतम चुक्ता पुँजीभन्दा बढी चुक्ता पुँजीसहित अत्यन्त सबल पुँजीकोष कायम राख्दै एक विशिष्ट वित्तीय संस्था निर्माण गर्ने दिशामा अघि बढेकोले अन्य वित्तीय संस्थाहरुसँग विलय नभई आफै सशक्त रुपले अघि बढ्ने जानकारी प्रदान गरे । साथै व्यवासायिक नाफाभन्दा माथि उठेर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्य गर्न एक विशिष्ट कोष खडा गरी समस्त नागरिकरुको हितमा कार्य गर्न ज्योति विकास बैंक तत्पर रहेको विषय समेत जानकारी दिए ।
उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो । हाल बैंकले एक सय दुईवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले दुई लाख ४० हजारभन्दा बढी खाताबाट ३१ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई २६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ ।