विराटनगर ।
विराटनगरमा सञ्चालनमा रहेको अमन हार्डवेयरले आर्थिक वर्ष ०७७/०७८ को पुस मसान्तसम्ममा भएको कारोबार विवरण सार्वजनिक गरेसँगै उसले राजस्व छली गरेको आशंका गर्न थालिएको छ । अमन हार्डवेयरका सञ्चालक राजेन्द्रकुमार अग्रवाल रहेको छन् । अग्रवालले चालू आवको छ महिनामा १५ करोडको कारोबार गर्दा पाँच लाख मात्र आयकर बुझाएपछि उनले व्यापक राजस्व तथा भ्याट ठगी गरेको आशंका गर्न थालिएको हो ।
निकै लामो समयदेखि हार्डवेयरको कारोबार गर्दै आएका अग्रवाल पछिल्लो समय बजारमा भएको डण्डी र सिमेन्टको कार्टेलिङ प्रकरणमा समेत तानिएका थिए । अग्रवालले दुई महिनाअघि उद्योगबाट ६८ रुपैयाँमा खरिद गरी ल्याएको डण्डीलाई अहिले ८८ रूपैयाँ मूल्य कायम गरी बिक्रीवितरण गरिरहेका छन् । साथै अग्रवालले आफ्नै ढुवानीमा उद्योगबाट डण्डी ढुवानी गरी ढुवानीबापतको भ्याट रिफण्ड डिमाण्ड गरेका छन् ।
ढुवानीबापतको भ्याट रिफण्ड डिमाण्ड गरेसँगै उनको कारोबारमा प्रश्न उब्जेको हो । स्रोतका अनुसार आन्तरिक राजस्व कार्यालय विराटनगरबाट अमन हार्डवेयरको नाममा राजेन्द्रकुमार अग्रवालको नाममा २०५६ सालमा नै ३०००७२१४१ बाट मूअ कर दर्ता कायम गरी व्यापारिक कारोबार गरेको देखिए पनि आयकरमा भने २०५२ सालमा नै दर्ता भएको थियो । अग्रवालले लामो समयदेखि आफ्नो हार्डवेयरको कारोबारमा अकल्पनीयरूपमा भ्याट ठगी गरिरहेको स्रोतको भनाइ छ । कोभिड १९ का कारण सरकारले गत चैतदेखि लकडाउन गर्दा समेत अग्रवालले व्यापकरूपमा हार्डवेयरको कारोबार गरेका थिए ।
लकडाउन हुनुपूर्व सरकारले आर्थिक वर्ष ०७४।०७५ देखि भारत तथा तेस्रो मुलुकबाट सामान आयात एवं निर्यात गर्दा अनिवार्य जीएसटी प्रणाली लागू गरेपछि अग्रवालको हार्डवेयर व्यापारमा केही शिथिलता आएको थियो । तर लकडाउनका समयमा भन्सार एजेन्टको मिलेमतोमा लाखौँको सामान आयात गर्न अग्रवाल सक्रिय भएको स्रोतले बताएको छ । फेरि पछिल्लो समय लकडाउन खुलेसँगै सरकारले कडाइका साथ जीएसटी लागू गरेपछि भन्सार एजेन्टसँगको कारोबार र अग्रवालको व्यवसायी कारोबारमा केही शिथिलता आएको बताइएको छ ।
अग्रवालले आन्तरिक राजस्वमा हिसाब मिलानका लागि मात्र मूअ करको बिल प्रयोग गर्ने र बाँकी विनाबिल नै सामान बिक्री गरी राज्यलाई लाखौँ राजस्व ठगी गरिरहेका स्रोतको दाबी छ । यसतर्फ छानबिन र अनुसन्धान गर्ने सम्बन्धित निकाय राजस्व अनुसन्धानको मौनताका पछि अग्रवाल र राजस्वका बीचमा राम्रै सामिप्यता रहेको रहस्य पनि अहिले आएका खुल्न पुगेको छ ।
प्रदेश १ को नै व्यापारिक हबका रूपमा रहेको औद्योगिक नगरमा पछिल्लो समय अमन हार्डवेयरका सञ्चालक राजेन्द्रकुमार अग्रवाल निकै चर्चामा रहने गरेका छन् । उनले फलामे डण्डीको कार्टेलिङसँगै ब्ल्याक पाइप, सीआर सिट र जस्तापातामा समेत मनपरी मूल्य कायम गरी कारोबार गर्नेगरेको दाबी समाचारस्रोतले गरेको छ ।