लन्डन ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सस्तो भएको छ भने अमेरिकी डलर बलियो देखिएको छ । विश्वमा फेरि कोरोना फैलिने डरले तेल सस्तो भएको एजेन्सीहरुले जनाएका छन् । ब्रेन्ट क्रुड २४ सेन्ट अर्थात् शून्य दशमलव चार प्रतिशतले प्रतिब्यारेल सस्तो भएको छ । त्यस्तै वेस्ट टेक्सस इन्टरमेडियट १० सेन्ट अर्थात् शून्य दशमलव २ प्रतिशत सस्तो भएको छ । प्रतिब्यारेल ब्रेन्ट उक्त दरमा सस्तिएर ५४.८६ अमेरिकी डलर र वेस्ट टेक्सस ५२.२६ अमेरिकी डलरमा झरेको छ ।
गत बुधबारभन्दा कच्चा तेल प्रतिब्यारेल ३ डलरले घटिसकेको छ । कोरोनाले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव, बलियो अमेरिकी डलर र लगानीकर्तामा जागृत निराशाले तेलको मूल्यमा असर गरेको बताइएको छ । गत हप्ताहरुमा तेलको मूल्य बढिरहेको थियो । बढ्नुमा भने कोरोनाको खोप र साउदी अरबले गरेको उत्पादन कटौती कारण थियो तर अहिले खोप लगाउने काम सुस्त भएको र अर्थतन्त्र तंग्रिने आशा क्षीण हुँदा मूल्यमा असर गरेको हो ।