काठमाडौं ।
करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व आफ्नो मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिने भएको छ । मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन–पे पेमेन्ट सर्भिस लिमिटेडबीच सम्झौता समेत भएको हो । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र फोन–पेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका हुुन् ।
करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य सेवाशुल्क मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनै पनि किसिमका कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ । मोबाइल बैंकिङबाटै कर तिर्न सकिने भएसँगै करदाताहरूलाई विभिन्न कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।
मोबाइल बैंकिङ प्रयोगकर्ताले मोबाइल बैंकिङ लगअन नै नगरी बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गई रेभिन्यूमा क्लिक गर्ने र त्यहाँ रहेको सरकारी राजस्व करमा क्लिक गरी करदाता संकेत नम्बर तथा अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सकिनेछ ।
फोन–पे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोन–पे नेटवर्कमा ५२ वटाभन्दा बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने एक लाख ८० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । ९० लाख मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाखभन्दा बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोन–पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भीथ्री टु वान प्रमाणीकरण प्राप्त संस्था हो ।