काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशले हेटौंडामा सचिवालय भवन निर्माण गर्ने भएको छ । प्रदेश महासंघको भवन निर्माणको लागि हेटौंडा उपमहानगरपालिकाले दुई कट्ठा जग्गा व्यवस्था गरिदिने भएपछि महासंघले भवन निर्माण कार्यलाई अगाडि बढाउने भएको हो ।
महासंघको वाग्मती प्रदेश सचिवालय हाललाई केही समय मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा राख्ने महासंघ वाग्मती प्रदेशको कार्यकारिणी समितिको बैठकले निर्णय गरेको छ । सचिवालय व्यवस्थापनको लागि वाग्मती प्रदेशका कार्यकारिणी समिति सदस्य जीवनकाजी माकजु श्रेष्ठलाई जिम्मेवारी दिइने भएको छ । गत शुक्रबार वाग्मती प्रदेश महासंघ अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रदेश कार्यकारिणी समितिको दोस्रो बैठकले चार जनालाई कार्यकारिणी समितिमा मनोनीत गरेको छ ।
अध्यक्षबाट विधानत मनोनयन हुने कार्यकारिणी समितिमा गुर्खा इन्काउन्टर प्रालिकी प्रतिमा भट्ट, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, धादिङ उवासंघका निवर्तमान अध्यक्ष, बोधनाथ दुवाडी र उवासंघ जिरीका अध्यक्ष गेल्बु शेर्पा मनोनीत भएका हुन् । त्यस्तै महासंघ प्रदेश समितिले विभिन्न समितिहरुको गठन गरी महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुलाई संयोजकको जिम्मेवारी दिएको छ । प्रदेश उपाध्यक्षद्वय सविन श्रेष्ठ र दुर्गाराज श्रेष्ठलाई क्रमश सीप तथा तालिम समिति र राजस्व समिति, कोषाध्यक्ष गुणराज श्रेष्ठलाई मेला महोत्सव तथा प्रदर्शनी समितिको संयोजक तोकिएको छ ।
यस्तै कार्यकारिणी सदस्यहरु श्याम थापा घरेलु तथा साना उद्योग समिति, जीवनकाजी माकजु सचिवालय व्यवस्थापन समिति, कैलाश पलाञ्चोके सूचना सञ्चार प्रविधि तथा प्रकाशन समिति, शिव प्रसाद मानन्धर वाणिज्य तथा आपूर्ति समिति, वीरेन्द्रनाथ भट्टराई उद्योग समिति, प्रदिपमान प्रधान रोजगारदाता समिति, प्रतिमा भट्ट महिला विकास समिति, गेल्वु शेर्पा यातायात तथा पारवहन समिति, बोधनाथ दुवाडी कृषि विकास समिति र राजस् श्रेष्ठ पर्यटन समितिको संयोजक चयन भएका छन् ।
साथै महासंघले नवगठित समितिबाट सुझाव प्राप्त भएपछि बागमती प्रदेशभित्र उद्योग व्यवसायको विस्तार, व्यावसायिक हक हित संरक्षण तथा व्यावसायिक क्रियाकलापको प्रवर्द्धनलगायतमा आवश्यक कार्यका लागि प्रदेश च्याप्टरलाई सक्रिय रुपमा अगाडि बढाउन सोहीअनुसार अगाडि बढ्ने निर्णय गरेको छ ।