ब्रसेल्स ।
युरोपेली संघको हवाइ सुरक्षा सस्था (ईएएसए)ले अर्को हप्ता बोइङ ७३७ म्याक्स शृंखलाका विमानहरुलाई युरोपेली आकाशमा उड्न स्वीकृति दिने भएको छ । एजेन्सीहरुका अनुसार लामो समय ग्राउन्डेड विमानहरुले अन्तिम स्वीकृति पाउनलागेका हुन् ।
सन् २०१९ को मार्चदेखि ईएएसएले म्याक्सका सबै उडानन रोकेको थियो । म्याक्सका दुई विमान इन्डोनेसिया र इथियोपियामा समान प्रकृतिका दुर्घटनामा परेपछि विश्वभर यो मोडलका सबै विमान ग्राउन्डेड गरिएको थियो । दुई दुर्घटनामा तीन सय ४६ यात्रुले ज्यान गुमाएका थिए । त्यसपछि विमानको समस्याग्रस्त सफ्टवेयरमा सुधार र परिमार्जन गरिसकिएको छ । अमेरिका र ब्राजिलमा यो मोडलका विमानले यसअघि नै उडान अनुमति पाइसकेका छन् ।
ईएएसएका कार्यकारी निर्देशक प्यााट्रिक कीले आगामी हप्तामा म्याक्स–२०० भेरियन्टको छुट्टै प्रमाणीकरण हुने बताए । यसअनुसार विमानहरुले समर सिजनअघि नै उडान भर्न पाउने भएका छन् । म्याक्स विमानको पहिलो दुर्घटना सन् २०१८ अक्टोबरमा इन्डोनेसियामा र दोस्रो दुर्घटना चार महिनापछि इथियोपियामा भएको थियो । बोइङले सुरक्षा सफ्टवेयरमा सुधार गरी नियमनकारी निकायका अधिकारीलाई अनुगमन गराइसकेको छ ।