काठमाडौं ।
आयात र निर्यातलाई भन्सारसँग आबद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने जानकारी दिएको हो । तीनवटा विभागबाट सुरु गरिने कार्यक्रम चरणबद्धरूपमा विस्तार गरिनेछ, जसमा सरकारी र निजी क्षेत्र रहनेछन् ।
भन्सार विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरूमा डिजिटल प्रणालीको सुरुवात हुनेछ । लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरू विभाग तथा कार्यालयहरूमा पुगिराख्नु पर्ने छैन । पेपरवर्क हुने छैन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकद्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान आवश्यक रहेको बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणालीले सेवा प्रवाहलाई पारदर्शी बनाउने बताउँदै सबै निकायमा पूर्णरूपमा लागू गर्ने बताइन् । राजस्व सचिव रामशरण पुडासैनीले एकद्वार प्रणालीले राजस्व परिचालनमा थप सहयोग पु-याउने बताए । यस्तै भन्सार विभागका महानिर्देशक सुमन दाहालले व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने जानकारी दिए । अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीचको समन्वय र सहकार्यमा एकद्वार प्रणाली लागू हुनेछ ।