काठमाडौं ।
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन् । शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय उपकुलपति छनोट समितिले गरेको सिफारिसको आधारमा थापालाई विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उपकुलपति नियुक्त गरेका हुन् ।
उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । समितिमा मन्त्री श्रेष्ठसहित पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहेका थिए । काठमाडौँ विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्राध्यापन पेसा गर्दै आएका प्राडा थापाले सो त्यहाँ २७ वर्ष काम गरेका छन् ।
नवनियुक्त थापा ९ वर्ष डीन र ५ वर्ष रजिस्टार भएका थिए । उपकुलपति प्राडा थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधि गरेका थिए । उपकुलपति नियुक्ति भएपछि थापा बुधबार नै शिक्षामन्त्री श्रेष्ठलाई भेट्न मन्त्रालयले पुगेका थिए । विश्वविद्यालयमा हाल देखिएका समस्या समाधान गर्न आफू हरसम्भव लागिपर्ने उनले बताए । मन्त्री श्रेष्ठले सबैको सम्मान हुनेगरी काम गर्न थापालाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठको अध्यक्षतामा गठित समितिमा ४४ जनाले उपकुलपति हुन आवेदन दिएका थिए ।