टिप्पणी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो राष्ट्रपतीय कार्यकाल सकेर बुधबार ह्वाइटहाउसबाट विदा भएका छन् । चार वर्षे कार्यकालमा डोनाल्ड ट्रम्प मिडिया र डेमोक्र्याट (विपक्षी दल र त्यसमा आस्था राख्नेहरु)बाट सर्वाधिक आलोचित बने । त्यसो त उनी राष्ट्रपति हुनुअघि नै डेमोक्रेटिक पार्टीका नेताहरुले महाभियोगको कुरा गर्न थालिसकेका थिए । यस अर्थमा उनीविरुद्ध डेमोक्रेटिक बहुमत रहेको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’बाट महाभियोग लगाइनु कुनै नौलो मानिएन । त्यसमाथि मूलधारमा वर्चस्व जमाएका ‘लिबरल’ मिडियाले उनले अघि बढाएका सकारात्मक काम र नीतिलाई समेत समाचारमा आलोचना गरिरहे ।
ट्रम्पले पहिलो महाभियोगको सामना नै गरे भने दोस्रोपल्ट भर्खरै लगाइएको महाभियोग तल्लो सदनले पारित गरिसकेको छ । आगामी दिनमा माथिल्लो सदन ‘सेनेट’मा यसबारे लामै बहसपछि पारित हुने नहुने टुंगो लाग्नेछ । पहिलो महाभियोग ट्रम्पकै दल ‘रिपब्लिकन’को बहुमत रहेको सेनेटमा असफल भयो । दोस्रो महाभियोग उनले आफ्ना समर्थकलाई संसद भवनमा आक्रमण गर्न लगाएको र कु गर्न खोजेको आरोपमा विपक्षीले उनी ह्वाइटहाउसबाट निस्किनु केही दिनअघि मात्रै लगाएको हो । ट्रम्प २०२० नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पराजित भए ।
हुलाकबाट गरिएका मतदानमा सबैजसो मत अर्का प्रत्याशी जोय बाइडेनतिर गएपछि ट्रम्पले निर्वाचनको परिणाम नै स्वीकारेका छैनन् । समर्थकले संसद भवनमा हुलदंगा गरेपछि ट्रम्पको विदाइ इतिहासकै ‘अलोकप्रिय’ राष्ट्रपतिका रुपमा भएको छ । उनी सन् २०२४ मा फेरि उठ्नसक्ने आकलन छ । किनभने दोस्रो कार्यकाल नजित्ने थोरैमध्येका एक हुन् ट्रम्प । उनलाई पुनः सार्वजनिक पदमा अयोग्य ठह-याउन डेमोक्र्याटहरु अहिले उनलाई दोस्रो महाभियोग लगाएर जसरी पनि पारित गर्न चाहन्छन् । अप्रत्याशित रुपमा डेमोक्रेटिक उम्मेदवार हिलारी रोधम क्लिन्टनलाई पराजित गरी सन् २०१६ मा व्यावसायिक पृष्ठभूमिबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले मूलतः आर्थिक पक्षलाई केन्द्रमा राखेर शासन गरे ।
चार वर्षे कार्यकालको उत्तरार्धतिर कोरोना संक्रमणले उनले गरेका सफल कामलाई ओझेलमा पारे पनि अमेरिकी अर्थतन्त्रको संवाहकका रुपमा ट्रम्पले आफ्नो राष्ट्रपतीय छवि बनाउन सफल रहे । उनीभन्दा अघिका राष्ट्रपति बाराक हुसेन ओबामाले जाँदाजाँदै भनेका थिए – ट्रम्पले रोजगारी सिर्जना नै गर्न सक्दैनन् । जुन कुरालाई ट्रम्पले मिथ्या साबित गर्न सफल भए । ट्रम्पको कार्यकालमा अमेरिकी अर्थतन्त्रले निरन्तर समृद्ध हुने मौका पायो ।
अमेरिकाले ७० लाख नयाँ रोजगारी ट्रम्पकै कार्यकालमा सिर्जना ग-यो । यो संख्या स्वयं अमेरिकी सरकारकै विज्ञहरुले अनुमान गरेभन्दा तीन गुणा धेरै हो । ट्रम्प राष्ट्रपति हुँदा मध्यमवर्गीय परिवारको आय झण्डै ६ हजार डलरले बढ्यो । जुन ओबामा प्रशासनको आठ वर्षे कार्यकालमा पाएको सफलताभन्दा पाँच गुणा धेरै हो । अर्को महत्वपूर्ण सफलता भनेको बेरोजगारी दर ३.५ प्रतिशतमा खुम्च्याउनु । यो ५० वर्षयताकै थोरै दर हो । उनको कार्यकालमा झण्डै १ करोड ६० लाख अमेरिकीले आफू रोजगार रहेको बताए । बेरोजगारी ५० वर्षयताकै कम हुनु ट्रम्प प्रशासनले पाएको ठूलो सफलता हो ।
ट्रम्पकै कार्यकालमा अफ्रिकी अमेरिकी, हिस्पानिक अमेरिकी, एसियाली अमेरिकी, नेटिभ अमेरिकी, प्रौढ, अपांगलगायत समुदायमा हालसम्मकै न्यून बेरोजगारी दर रह्यो । त्यस्तै महिला बेरोजगारी दर ७० वर्षयताकै न्यून विन्दुमा पुग्नु ट्रम्पले पाएको अर्को सफलता हो । उक्त समुदायको गरिबी दर पनि कीर्तिमानी रुपमा घटेको छ । आय असमानता पनि लगातार दुई वर्षसम्म घट्यो । न्यूनवर्गीय ५० प्रतिशत अमेरिकी घरपरिवारले ४० प्रतिशत आयवृद्धि देख्न पाए ।
यतिमात्र होइन ट्रम्प उत्पादन र निर्माण क्षेत्रमा १२ लाख रोजगारी सिर्जना गर्न सफल भए । साना व्यवसायले ३५ वर्षदेखि देख्न नपाएको आशा ट्रम्पले पुनः जागृत गराइदिए । उनको पालामा अमेरिकी सेयरबजारले कहिल्यै तल झर्नु परेन । द डो उनी राष्ट्रपति भएको एक वर्षपछि नै २० हजारभन्दा माथि पुग्यो र सन् २०२० मा ३० हजारभन्दा माथि पुग्यो । एसएण्डपी र नास्डाक दुवै उच्च विन्दुमा रहे । त्यस्तै डोनाल्ड ट्रम्पले ग्रामीण अमेरिकामा लगानी र पुनर्निर्माणलाई जोड दिए । नीतिगत सुधार गरे । अमेरिकी ग्रामीण अर्थतन्त्र सबल बनाउन १ अर्ब ३० करोड अमेरिकी डलर कृषि विभागको रिकनेक्ट कार्यक्रममा लगानी गरे ।
कोरोना महामारी सुरु भएपछि विश्वले लकडाउन गरेर अर्थतन्त्र ठप्प पारे । डोनाल्ड ट्रम्पले अर्थतन्त्र जोगाउन लकडाउन गरेनन् । आलोचकहरुले यसैलाई देखाएर अमेरिकामा चार लाख बढीको ज्यान गएको आरोप लगाउँछन् तर ठूलो भूभाग र दर्जन बढी ठूला राज्य भएको अमेरिकामा धेरै मानिसको मृत्यु हुनु अन्यथा मान्न सकिन्न । किनभने धेरै युरोपेली देशहरु र ब्राजिलमा पनि लाखौँको मृत्यु भएको छ ।
महामारीकै बीच अर्थतन्त्रलाई क्रियाशील बनाउन नगद राहत वितरण गरिएको थियो । सन् २०२० को तेस्रो त्रैमासिकमा त अमेरिकी अर्थतन्त्रले ३३.१ प्रतिशतको ऐतिहासिक आर्थिक वृद्धिदर हासिल ग-यो । कोरोनाका कारण राज्यतहबाट गरिएका लकडाउन विस्तारै हट्दै जाँदा अमेरिकाले १ करोड २० लाख रोजगारी सिर्जना ग-यो । महामारीकै कारण गत अप्रिलमा १४.७ प्रतिशत पुगेको बेरोजगारी दर डिसेम्बर आइपुग्दा ६.७ प्रतिशतमा झरिसकेको थियो । ट्रम्पले लिएका आर्थिक नीतिले अमेरिकी अर्थतन्त्रलाई कोरोनाबाट जोगाउन सफल रह्यो ।
आफ्नो राष्ट्रपतीय कार्यकालमा ट्रम्पले मध्यमवर्गीय अमेरिकीलाई करछुटको नीति लिए । कर छुट र रोजगारी ऐनमा हस्ताक्षर गरे । यसकै कारण ६० लाखभन्दा धेरै अमेरिकी श्रमिकले तलब वृद्धि देख्न पाए । उनले नौ हजारभन्दा धेरै अपरच्युनिटी जोन स्थापना गरे जहाँ दीर्घकालसम्म लगानी गर्नेले शून्य कर तिर्नुपर्छ । व्यवसायमैत्री नदेखिएका अघिल्लो प्रशासनले लिएका धेरै नीति ट्रम्पले उल्ट्याएका थिए । ट्रम्पले अहिले अमेरिकीहरुको गोजीमा हुने पैसा धेरै बनाइदिएका छन् ।
ट्रम्पले ‘पहिला अमेरिका’ नीति लिएर अन्य देशसँगको व्यापारलाई ‘विन विन’ बनाउने सम्झौतामा जोड दिए । ट्रान्स पेसिफिक पार्टनरशिप (टीपीपी)बाट हात झिके, नर्थ अमेरिकन फ्रि ट्रेड अग्रिमेन्ट (नाफ्टा)लाई युनाइटेड स्टेट्स–मेक्सिको–क्यानडा अग्रिमेन्ट (यूएसएमसीए)ले प्रतिस्थापन गरिदिए । जसबाट अमेरिकी किसान, डेरी उत्पादक र श्रमिकलाई ठूलै फाइदा हुने निश्चित छ । जापान, कोरियासँगको व्यापार सम्झौता पुनरवलोकन गरे, चीनसँग पहिलो चरणको व्यापार सम्झौता गरे । दोस्रो चरणको सम्झौता भने उनले गर्न पाएउनन् ।
ट्रम्पले विश्व व्यापार संगठनको भेदभावपूर्ण नीति लुरुक्क भएर मानेनन्, खरो आलोचना गरिरहे । विभिन्न देशहरुसँग भएको अव्यावहारिक व्यापारलाई ट्रम्पले तोड्ने प्रयास गरे । चीनसँग व्यापार युद्ध गरेर अमेरिकी बौद्धिक सम्पत्ति, अमेरिकी कम्पनीमाथिको विभेदपूर्ण व्यवहार सुधार्ने प्रयास गरे । ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा अमेरिकी किसानलाई विदेशी बजारमा पहुँच दिन ५० भन्दा धेरै सम्झौता गरे । प्रतिकूल समयमा किसानलाई २८ अर्ब डलरको सहयोग दिए ।
ट्रम्पले आफ्नो कार्यकालमा तेल र प्राकृतिक ग्यासमा अमेरिकालाई आत्मनिर्भर बनाए । यसैको उदाहरण हो – झण्डै ७० वर्षपछि अमेरिकाले पहिलोपटक ऊर्जा निर्यात ग-यो । अमेरिका अहिले धेरै कच्चा तेल र प्राकृतिक ग्यास उत्पादन गर्ने पहिलो नम्बरमा छ । त्यस्तै उनले महिलाको आर्थिक सशक्तीकरणलाई पनि उत्तिकै जोड दिए । यसका लागि सन् २०१७ मा पहिलोपटक राष्ट्रिय सुरक्षा रणनीतिमा महिला सशक्तीकरण समावेश गरिदिए ।
उनले ल्याएको वुमन्स ग्लोबल डेभलपमेन्ट एन्ड प्रस्परिटी (डब्ल्यू–जीडीपी) इनिसिएटिभ यसैको उदाहरण हो । यूएसएडमा डब्ल्यू–जीडीपी फन्ड खडा गरे । यो रणनीति विश्वका २ करोड ४० लाख महिलासम्म पुगेको छ । १३ वटा देशमा वुमन आन्ट्रप्रेनर्स फाइनान्स इनिसिएटिभ (वि–फाइ) लन्च भएको छ । प्रविधि र नवप्रवर्तनमा अमेरिकाको नेतृत्वलाई सुनिश्चित गर्न पनि ट्रम्प सफल रहे । राष्ट्रिय अनुसन्धान र विकासको प्राथमिकतामा आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम इन्फरमेसन साइन्स र फाइभजी कम्युनिकेसन राख्ने ट्रम्प प्रशासन पहिलो हो । अमेरिकीको रोजगारी सुरक्षित गर्न उनले बाह्य देशबाट विज्ञ झिकाउने प्रचलनमा धावा बोले ।
यी सबै प्रयासका बाबजुद सन् २०१९ मा चीनको वुहानबाट कोरोना संक्रमण प्रकोपकै रुपमा विश्वभर फैलियो र उनले पाइरहेको सफलतामा अवरोध सुरु भयो । यद्यपि राष्ट्रपति भएदेखि नै विपक्षीको अवरोधको त सामना गरिरहेकै थिए, कोरोनाकै कारण दोस्रो राष्ट्रपतीय कार्यकाल गुमाउनपुगे ।
अरु त अरु ट्रम्पले आर्थिक क्षेत्रमा पाएको सफलताको आलोचना गर्न विपक्षी दल र ‘लिबरल’ मिडियासमेत पछि हट्ने अवस्थामा पुगेको थियो । भलै कोरोनाले अमेरिकामा धेरैको मृत्यु भयो, कोरोनाको खोप उनकै कार्यकालमा तयार भयो र अहिले देशैभर प्राथमिकतासाथ लगाउने काम भइरहेको छ । खोप विकास र अमेरिकीलाई निःशुल्क वितरण गर्ने ट्रम्प प्रशासनको वाचा ‘अपरेसन वार्प स्पिड’ले पूरा गरेको छ । खोपमात्र होइन उनको कार्यकालमा कोरोना संक्रमण रोक्ने धेरै औषधि बनेका छन् । ट्रम्पले प्रिस्क्रिप्सन ड्रग्सको मूल्य अस्पताल र औषधि बिक्रेताले खुलाउनुपर्ने नियम बनाइदिएका छन् । जसबाट चर्को मूल्य तिर्नबाट अमेरिकीहरु जोगिनेछन् ।
यसका बाबजुद ओबामा केयरको प्रतिस्थापन गर्न भने असफल रहे । आफूले राष्ट्रपति बन्नुअगाडि दिएका वचन पूरा गर्न ट्रम्प सफल रहे । केहीमा आंशिक सफल भए, केहीमा उल्लेखनीय रुपमा सफल भए । अदालतमा न्यायाधीश नियुक्तिमा उनले ठूलै सफलता पाए भने अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन आंशिक सफल भए । बाहिरी देशमा रहेका अमेरिकी सैनिक स्वदेश फिर्ता ल्याउने काममा पनि धेरै नै सफल रहे ।
आर्थिकबाहेक विश्वराजनीति र कूटनीतिमा ट्रम्पले उल्लेखनीय सफलता पाए । मध्यपूर्वमा शान्ति स्थापनाका लागि प्रयासहरु भएका छन् भने प्रमुख शत्रु उत्तर कोरियासँगको सम्बन्ध सुधार्न दुईपटक किम जोन उनसँग सिंगापुर र भियतनाम गएरै वार्ता र छलफल गरे । लामो समयदेखि अफगानिस्तान युद्धमा सहभागी अमेरिकाले तालिबानसँग वार्ता ग-यो । सधैँ बाहिरी देशमा कुनै न कुनै नयाँ युद्धमा होमिँदै आएको अमेरिका ट्रम्पको कार्यकालमा कतै होमिएन बरु शान्तिका लागि प्रयास ग-यो । फलतः ट्रम्प विश्व शान्तिमा प्रयास गरेको कारण प्रतिष्ठित सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि दुई/दुई पटक मनोनयनमा परेका छन् ।