विराटनगर ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को नवनिर्वाचित कार्यसमितिको पदस्थापना तथा शपथग्रहण कार्य सम्पन्न भएको छ । उद्योग वाणिज्य महासंघको पदस्थापन कार्यक्रमलाई उद्योग संगठन मोरङका अध्यक्षसहितको टोलीले भने बहिष्कार गरेको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्ष बन्न गरेको प्रयास सफल नभएपछि उद्योग संगठनले कार्यक्रम बहिष्कार गरेको हो । अध्यक्ष घिमिरेले आफूलाई वाणिज्य महासंघको अध्यक्षका लागि साझा उम्मेदवार बनाउन व्यापक लबिङ गरेको भए पनि उनी सफल बन्न नसकेका थिएनन् ।
नवनिर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरेका थिए । ढकालले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सरकारको व्यावसायिक साझेदार आवश्यक रहेको बताए । पर्यटन र कृषिक्षेत्रमा बलियो सम्भावना रहेको बताएका वरिष्ठ उपाध्यक्ष ढकालले सो क्षेत्रको समग्र विकास लागि स्थानीय सरकारको समेत समन्वय र सहयोगको आवश्यकता रहेको उल्लेख गरे ।
ढकालले कोभिड १९ को महामारीले पछिल्लो समय मुलुकको औद्योगिक क्षेत्रमा समेत ठूलो असर पु-याएको बताए । कोभिड महामारीको असरबाट जर्जर बनेको औद्योगिक क्षेत्रलाई उकास्नका लागि महासंघको केन्द्रीय तहले समन्वयको भूमिका खेल्ने जानकारी दिए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले कोभिडका कारण विदेशी लगानी भित्र्याउने कुरामा सबै सतर्क रहनुपर्नेमा जोड दिए । ७० प्रतिशतसम्म विदेशी लगानी र प्रवर्द्धन गर्न दिने सरकारको नीति सन्दर्भ सकारात्मक भए पनि त्यसबाट सरकारले मुलुककै ससाना लगानीका कृषकलाई नोक्सानी व्यहोर्नुपर्ने अवस्थालाई समेत ध्यान दिनुपर्ने बताए ।
राउतले निजी क्षेत्रले कोभिड १९ को महामारीसँगै असार मसान्तदेखि पुस मसान्तसम्ममा उद्योग सञ्चालनका लागि लिएको ऋणका कारण लगानी बढेको मात्र देखिएको बताए । कोभिडबाट प्रभावित उद्योग, कलकारखानाको पहिचान गरी सरकारले पुनर्कर्जा लगानी गर्नुपर्ने सुझाव दिएका राउतले उद्योगलाई बढीमा २० करोड रुपैयाँसम्म पुनर्कर्जाका रुपमा लगानी गर्न सकिने प्रावधानमा विचार गर्न सुझाव दिए ।
सो निर्धारित रकमभन्दा ठूला लगानीका उद्योगलाई समेत सरकारले समेट्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्रकुमार खड्काले नवनिर्वाचित अध्यक्ष टीकाराज ढकाललाई शपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष ढकालले अन्य पदाधिकारीसहित उपाध्यक्षद्वय जिल्ला नगरतर्फलाई नयाँ कार्यकालको पदभार ग्रहण गराएका थिए ।