काठमाडौं, पुस २१
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १८औं वार्षिक साधारणसभा आइतबार काठमाडौँमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ४२ करोड ४१ लाख ३८ हजार आठ सय ७४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
साधारण सभाले आव २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरणसमेत पारित गरेको छ । चालू आवको मंसिर मसान्तसम्म ६१ जिल्लाका एक सय ४० शाखा/उपशाखा कार्यालय तथा नौवटा इलाका कार्यालयबाट दुई लाख ४५ हजार एक सय १६ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम १५ अर्ब ६३ करोड ३३ लाख पुगेको छ ।
वित्तीय संस्थाको आन्तरिक पुँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा आठ अर्ब २६ करोड ४४ लाख पाँच हजार रूपैयाँ रहेको छ । राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पुँजी एक अर्ब रुपैयाँ छ । साधारणसभाले जारी तथा चुक्ता पुँजी ७९ करोड २३ लाख ९९ हजार चार सय रूपैयाँ कायम गर्ने निर्णय गरेको छ । उक्त साधारणसभाले सर्वसाधारण सेयरधनी समूह ‘ख’ अन्तर्गत सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा विष्णुप्रसाद त्रिपाठीलाई निर्विरोध निर्वाचित गरेको छ ।