दोलखा ।
आफ्नै लगानीमा सडक कालोपत्रे गर्न सुरु गरेको जिल्लाको बैतेश्वर गाउँपालिकाले चालू आर्थिक वर्षमा थप चार किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ । गाउँपालिकाले गत आर्थिक वर्षबाट आफ्नै लगानीमा सडक कालोपत्रे गर्न सुरु गरेको थियो । गतवर्ष कालोपत्रे गर्न सुरु गरिएका सडकहरूमा नै चालू आवमा पनि थप कालोपत्रे गर्दै लैजाने गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए । अध्यक्ष लामाका अनुसार गाउँपालिकाले यसवर्ष चार किलोमिटर सडक कालोपत्रे गर्ने योजना बनाएको हो ।
अघिल्लो वर्ष गाउँपालिकाले तीन ठाउँका तीनवटा सडकमा आफ्नै लगानीमा कालोपत्रे गर्न सुरु गरेको थियो । सोही सडकमा यो वर्ष पनि गाउँपालिकाले कालोपत्रे गर्न बाँकी रहेको ठाउँमा कालोपत्रे गर्नेछ । गाउँपालिकाले बुस्ती–पुतलीकाठ सडक, गोपिखोला–गैरिमुदी र मैनापोखरी देउराली–क्षेत्रपा सडकमा कालोपत्रे गर्न सुरु गरेको थियो । गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यका अनुसार गाउँपालिकामा अघिल्लो वर्ष तीन किलोमिटर सडक कालोपत्रे तथा ढलान गरिएको छ ।
यसवर्ष सोही सडकमा थप कालोपत्रे गर्न छ करोड बजेट थप गरिएको उनले जानकारी दिए । त्यसैगरी गाउँपालिकाले यसवर्ष पुतलीकाठ–मजुवा–बगर सडकको स्तर वृद्धि तथा मर्मत गर्न एक करोड बजेट छुट्याएको उनले बताए । गाउँपालिकाले एक नयाँ योजनासहित यसवर्ष करिब चार किलोमिटर सडक कालोपत्रे गर्न लागेको हो ।
गाउँपालिकाले यसवर्ष थप कालोपत्रे हुने सडकको समेत बोलपत्र खुला गरेर ठेक्का सम्झौता गरिसकेको छ । उक्त कालोपत्रेको काम सुरु गर्ने चरणमा रहेको गाउँपालिकाले जनाएको छ । साथै आठवटा वडा रहेको गाउँपालिकामा सबै वडा भवन निर्माणसम्पन्न भइसकेको छ । गाउँपालिकाले भौतिक संरचना निर्माण उल्लेख्य प्रगति हासिल गरेको स्थानीय जानकारहरूको भनाइ छ ।