काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भिसा कन्ट्याक्टलेस कार्डको सुरुवात गरेको छ । बैंकले नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात् ट्याप सुविधा भएको पस मेसिनहरूमा प्रयोग गर्न सकिने गरी उक्त सेवाको सुुरुवात गरेको जानकारी दिएको छ ।
बैंकका अनुसार यस प्रविधिमा मेसिनभित्र कार्ड नछिराई एउटा सीमित दूरीबाट पस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । यो प्रविधि सरल एवं सहज हुनुका साथै अहिलेको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिन्छ । राष्ट्र बैंकको नियमानुसार हाललाई यस प्रविधिबाट प्रतिकारोबार दुई हजार रूपैयाँसम्म विनापिन कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ ।
बैंकले हाल आफ्ना देशैभरि फैलिएका एक सय नौवटा शाखा, ९८ वटा एटीएम र एक सय सातवटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरूको वित्तीय आवश्यकताहरू डिजिटली पूर्ति गरिरहेको छ ।
यसलाई मूर्त रूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको सिटिजन्स बैंकले कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा निःशुल्क वितरण गर्दै आएको छ यसप्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यावसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरूका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।