काठमाडौं ।
नेपाली नागरिकलाई इजरायलको केयरगिभर क्षेत्रमा (स्याहारसुसार) रोजगारी खुल्ला गरिएको छ । बिहीबार नेपाल र इजरायली पक्षबीच श्रम सम्झौतामा रहेको कार्यान्वयन प्रोटोकलमा दुवै पक्षले हस्ताक्षर गरेसँगै नेपालीका लागि इजरायलको रोजगारी खुल्ला भएको हो ।
मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलको राजदूत खनान गोडेरले हस्ताक्षर गरेका थिए । हस्ताक्षर समारोहमा विभागका महानिर्देशक दाहालले प्रस्तुत सम्झौताअनुरुप इजरायल जाने नेपाली कामदारहरुको लागि एक आन्तरिक कार्यविधि तर्जुमा गरी छिट्टै प्रक्रिया थालनी गर्ने बताए ।
सो अवसरमा इजरायलका लागि नेपालका राजदूत डा. अन्जान शाक्यले नेपाल–इजरायलका श्रम सम्झौताले दुवै देश बीचको मित्रवत् सम्बन्धमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले भर्चुअल माध्यमबाट सो कुरा व्यक्त गरेकी हुन् । यस्तै हस्ताक्षर समारोहमा राजदूत गोडेरले यस सम्झौताअनुसार नेपालबाट जाने कामदारहरुको लागि कुनै विभेद नगरी इजरायलका नागरिकसरह सेवा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको बताए ।
साथै, नेपाल सरकारको तर्फबाट छिट्ट्रै यो प्रक्रिया आरम्भ गर्ने विश्वास व्यक्त गरे । रोजगारीको लागि इजरायल आकर्षक गन्तव्य मानिए पनि नेपालीलाई इजरायल जानको लागि भने सन् २००९ मा रोकिएको थियो । आर्थिक भार परेको भन्दै इजरायल रोजगारी रोकिएमा अहिले पुनः सुचारु गरिएको छ । विभागले अबको तीन महिनाभित्र पठाउने तयारी गरेको छ भने शुल्क भने जान चाहने आफैँले व्यहोर्नुपर्नेछ । मन्त्रालयका सचिव तोयम रायलगायत परराष्ट्र मन्त्रालयको प्रतिनिधि समेतको उपस्थितिमा हस्ताक्षर समारोह सम्पन्न भएको थियो ।
यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरी शंकर चौधरीले दुई मुलुकबीच बिहीबार भएको सम्झौताले कोरोनाको महामारीको बीचमा नेपाली नागरिकहरुलाई इजरायलमा रोजगारीको अवसर प्राप्त हुन लागेकोमा खुसी व्यक्त गरे । साथै उनले इजरायलबाट नेपालले सीप तथा प्रविधि हस्तान्तरणमा उल्लेख्य उपलब्धि हासिल गरिरहेको र आगामी दिनमा कृषिलगायत रोजगारीका अन्य क्षेत्रमा समेत नेपाली नागरिकहरलाई रोजगारीको अवसर मिल्ने विश्वास व्यक्त गरे ।