काठमाडौं ।
नेपाल बैंकले जिल्ला प्रशासन कार्यालय दोलखामा पनि एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले यही माघ सात गतेबाट आफ्नो ३९औं एक्स्टेन्सन काउन्टर दोलखा चरीकोटस्थित जिल्ला प्रशासन कार्यालयको परिसरबाट सुरु गरेको हो ।
उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले गरेका हुन् । उक्त अवसरमा उनले बैंकको यस एक्स्टेन्सन काउन्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालयलगायतमा आउने सेवाग्राहीले अझ छिटो छरितो सेवा पाउने विश्वास व्यक्त गर्दै बैंकले प्रदान गर्दै आइरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिए ।
उक्त अवसरमा बैंकको चरीकोट शाखाका शाखा प्रबन्धक सुरेन्द्र श्रेष्ठले जनताको सेवाको लागि यो एक्स्टेन्सन काउन्टरको सुरुवात गरेको र आधुनिक प्रविधि समेतको प्रयोग गर्दै सेवाग्राहीलाई छिटोछरितो सेवाप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । सुरुमा राजस्व संकलनको मात्रै काम हुनेभए पनि विस्तारै सबै सेवा विस्तार गर्दै लगिने समेत जानकारीदिए ।
बैंकले देशभर रहेका दुई सय चारवटा शाखा, ३९ वटा एक्स्टेन्सन काउन्टर, एक सय ४२ वटा एटीएम तथा अन्य विभिन्न माध्ययमबाट समेत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।