काठमाडौं ।
नेपाल बैंकले कर्पोरेट–पे प्रणाली प्रदान गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्नसकिने गरी कर्पोरेट–पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याटफर्ममार्फत बैंकमा नगई आफैंले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डरपेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू खाताबाट सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियलटाइम वा ननरियल टाइममा भुक्तानी कारोबारहरू गर्न सकिनेछन् ।
कर्पोरेट–पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्विकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यसपछि भने ग्राहकका प्रयोगकर्ताहरू आफैले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नताविना नै गर्न सक्दछन् भने सो सीमाभन्दा बढीको कारोबार गर्न भने थप चेकजाँचपछि प्रोसेस हुने व्यवस्था बैंकले गरेको छ ।
यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथन्टीकेसनको सुरक्षित व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र अपु्रभ गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै ग्राहककोे आवश्यकताअनुरूप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरू पनि लिंक गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।
नेपाल बैंकले सदैव आफ्ना ग्राहकहरूका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाटफर्महरू प्रदान गर्दै आएको छ र यस कर्पोरेट–पे प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरूलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ । यस प्रणालीको प्रयोग र विस्तारपश्चात् बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाइन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।