काठमाडौं ।
सेयर बजारको उकालो यात्राले साताको दोस्रो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ । यसदिन सेयर बजार परिसूचक १६ दशमलव चार अंकले उकालो लागेर २४ सय ४० दशमलव ८७ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २४ अंकले ओरालो लागेर चार सय ५१ दशमलव ८२ अंकमा झरेको छ ।
यसदिन १२ वटा उपसमूहअन्तर्गत दुई सय आठवटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ७२ हजार सात सय ७३ पटकको कारोबारमा एक करोड ९२ लाख ८५ हजार पाँच सय चार कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोबार रकम आठ अर्ब ९० करोड ३५ लाख ३८ हजार सात सय ३१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुल उपसमूहमध्ये पाँचवटा उपसमूहको सूचक उकालो लागेका छन् भने सातवटाको ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक २४ दशमलव २२ अंकले उकालो लागेर १७ सय ६९ दशमलव ६४ अंकमा चढेकोमा टे«डिङ उपसमूहको सूचक पनि ९० दशमलव ७७ अंकले उकालो लागेर २९ सय ८४ समलव ९४ अंकमा पुगेको छ ।
निर्जीवन बीमा उपसमूहको सूचक पनि ७९ दशमलव ३४ अंकले उकालो लागेर ११ हजार सात सय ८५ दशमलव ६६ अंकमा चढेकोमा अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ३१ दशमलव छ र शून्य दशमलव शून्य पाँच अंकले उकालो लागेका छन् । विकास बैंक समूहको सूचक भने यसदिन २० दशमलव ७७ अंकले ओरालो लागेर २५ सय ५६ दशमलव एक अंकमा झरेकोमा जलविद्युुत् उपसमूहको सूचक पनि तीन दशमलव ५६ अंकले ओरालो लागेर १९ सय २५ दशमलव ९३ अंकमा झरेको छ ।
यसैगरी लघुवित्त उपसमूहको सूचक पनि ४९ दशमलव छ अंकले ओरालो लागेर चार हजार ६१ दशमलव ३८ अंकमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि ८८ दशमलव ५८ अंकले ओरालो लागेर १६ हजार आठ सय ६० दशमलव सात अंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स र उत्पादनमूलक समूहको सूचकहरू पनि क्रमशः २४ दशमलव सात, छ दशमलव ७८ र १७ दशमलव ९१ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको सेयर मूल्य १० प्रतिशतले बढेर चार हजार एक सय ६९ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको गुराँस लघुवित्त वित्तीय संस्थाको पनि प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ९५ प्रतिशतले बढेर १४ सय चार रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक गोर्खाज फाइनान्स, नेपाल बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य छ दशमलव ९८ प्रतिशतले घटेर दुई सय ४० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिन्धु विकास बैंकको प्रतिकित्ता सेयर मूल्य पनि पाँच दशमलव ४७ प्रतिशतले घटेर एक सय ९० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन पनि नेपाल फाइनान्सको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २८ सय ४९ रुपैयाँ अन्तिम मूल्यमा ६० करोड ३७ लाख ४० हजार सात सय १९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नबिल बैंकको पनि प्रतिकित्ता ११ सय ७६ रुपैयाँ अन्तिम मूल्यमा ३३ करोड १७ लाख तीन हजार पाँच सय ७९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनसीसी बैंक, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
तीनवटा संस्थाद्वारा सेयर मूल्य समायोजन
साताको दोस्रो कारोबार दिन सोमबार तीनवटा संस्थाहरूले सेयर मूल्य समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले दिएको जानकारीअनुसार यसदिन गरिमा विकास बैंकले १३ दशमलव ५० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय २४ रुपैयाँ तोकेको छ । पछिल्लो पटक बैंकको प्रतिकित्ता तीन सय ६८ रुपैयाँमा सेयर कारोबार भएको थियो ।
सेन्ट्रल फाइनान्सले पनि बोनस सेयरको मूल्य समायोजन गरेको छ । फाइनान्सले सात प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई सय १७ रुपैयाँ तोकेको छ । पछिल्लो पटक भने फाइनान्सको प्रतिकित्ता दुई सय ३२ रुपैयाँमा सेयर कारोबार भएको थियो । नेप्सेका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले पनि दुई दशमलव ८५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ६९ रुपैयाँ तोकेको छ । सेयर मूल्य समायोजनअघि कम्पनीको प्रतिकित्ता तीन सय ८० रुपैयाँमा सेयर कारोबार भएको थियो ।