काठमाडौं ।
इजीलिंक रेमिट्यान्स प्रालिले आफ्नो सेवा अष्ट्रेलियाबाट आरम्भ गरेको छ । अष्ट्रेलियाको सिड्नीमा कार्यालय रहेको मनि ट्रान्सफर कम्पनी इजीलिंक ट्रान्सफर पीटीवार्ई एलटिडीसँग सम्झौता गरिएको हो । उक्त सम्झौतापत्रमा इजीलिंक अष्ट्रेलियाका तर्फबाट एकराज खनाल र केशव आचार्यका साथै इजीलिंक नेपालको तर्फबाट डिपी अर्याल र दिपेन्द्र खनालले संयुक्तरूपमा हस्ताक्षर गरे । ‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं’ भन्ने मूल नाराका साथ विगत २३ वर्षदेखि देशमा रेमिट्यान्स भित्र्याउँदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रालिले आफ्नो सेवालाई विस्तार गरेको हो ।
कार्यक्रममा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डिपी अर्याल र कम्पनीका ब्राण्ड एम्बासडर रवि लामिछानेले त्यहाँ रहेका नेपालीहरूलाई वैधानिक तरिकाले आफूले कमाएको रकम नेपाल पठाउन इजीलिंक रेमिट्यान्सको प्रयोग गर्न आग्रह गरेका छन् । अहिले अष्ट्रेलियामा एक लाख ५० हजारभन्दा बढी नेपालीहरू रहेको अनुमान गरिएको छ । हुण्डीको कारोबार धेरै हुने देशको रूपमा अष्ट्रेलियालाई लिइँदै आइएको छ । इजीलिंक रेमिट्यान्सले जापान, कोरिया, साइप्रस, अष्ट्रेलियालगायत विश्वका विभिन्न मलुकहरूबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको छ ।
अष्ट्रेलियाबाट सेवा आरम्भ गरेपछि अवैधानिक बाटोबाट नेपालमा रकम पठाउने कार्य निरुत्साहित हुने साथै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरूका साथै निजी कम्पनीहरूसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तीव्र पार्नुका साथै इजीलिंक रेमिट्यान्सले अन्य देशबाट पनि रेमिट्यान्स भित्र्याउन तीव्ररूपमा अघि बढिरहेको र विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्समार्फत पठाएको रकम अब नेपालभरि रहेको इजीलिंक रेमिट्यान्सको छ हजारभन्दा बढी सबएजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट सजिलै भुक्तानी लिन र सजिलै बैंक खातामा रकम जम्मा गर्ने सेवा कम्पनीले प्रदान गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी गराए ।