काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गरेको छ । राष्ट्र बैंकका अनुुसार माघ १३ गते अर्थात् मंगलबारबाट सात वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘ङ’ बिक्री गरिएको हो । ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपराह्न २ बजेसम्म बोलकबोल पेस गर्नुपर्ने समयसिमा तोकिएको थियो । राष्ट्र बैंकका अनुसार जारी मिति यही २०७७ माघ १४ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि वि.सं. २०८४ माघ १४ गते तोकिएको छ ।
खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्नेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने जानकारी समेत राष्ट्र बैंकले दिएको छ । खरिद गर्न पाउने सीमा न्यूनतम ५० हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिनेछ ।
राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यीबाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीकोरुपमा भाग लिन पाउनेछैनन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ । खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सो अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।
यसको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ । माघ १३ गते बिक्री गर्न लागिएको विकास ऋणपत्र चालू आवको दोस्रो चौमासिकमा उठाइने आन्तरिक ऋण तालिकाअन्तर्गतको पहिलो विकास ऋणपत्र रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।