काठमाडौं ।
स्युचाटारमा रहेको जिसाको हाउजिङमा विवादास्पद व्यवसायी बलराम प्रसाद उप्रेती र टाट पल्टेको गुण समूहका सञ्चालक दिजेन्द्र भनिने राजेन्द्र शाक्यले जालसाजी गरेर जिदेन्द्र बहादुर श्रेष्ठको ५४ रोपनी ११ आना जग्गा रुप ज्योति र अभिक ज्योतिलाई बिक्री गरेर सित्तैमा अर्काको सम्पत्ति हडपेका छन् । श्रेष्ठले हाउजिङ सञ्चालन गर्न आर्थिक अभाव भएपछि २०७३ जेठ ३२ गते उक्त जग्गा प्लटिङ, हाउजिङ गरी बिक्री गर्ने र आधा–आधा आम्दानी बाँडेर लिने करारनामा गरेका थिए । उक्त करारनामापछि श्रेष्ठले जिसाको हाउजिङ डेभलपमेन्ट एण्ड कन्स्ट्रक्सन प्रालिको नाममा रहेको आफ्नो सेयर बलराम प्रसाद उप्रेती र लक्ष्मी पौडेलको नाममा सारिदिएका थिए ।
उनले २०७३ जेठ २१ गते आफ्नो नाममा रहेको कि.नं. ०१ देखि १५००० जम्मा १५ हजार थान सेयर प्रतिसेयर सय रुपैयाँका दरले जम्मा मूल्य १५ लाख रुपैयाँमा र कि.नं. १५००१ देखि ३० हजारसम्मको १५ हजार थान सेयर १५ लाख रुपैयाँमा लक्ष्मी पौडेलको नाममा नामसारी गरिदिएका थिए । एमओयूपछि श्रेष्ठले करारनामामा हस्ताक्षर गरेका थिए र त्यसपछि मात्र जिसाको हाउजिङको सेयर हस्तान्तरण गरेका थिए ।
करारनामापछि उप्रेतीले थप लगानी गरेर जग्गा प्लटिङ, हाउजिङ गरेर बिक्री गरी आधा–आधा बाँडेर लिनुपर्नेमा करारनामामा नाम भएको तर हस्ताक्षर नगरेको रमेश भनिने देवी बहादुर श्रेष्ठको समेत संलग्नता नदेखिने गरी आफू र लक्ष्मी पौडेलको नाममा जिसाको हाउजिङको दिजेन्द्र बहादुर श्रेष्ठको नामको सबै (३० हजार थान) सेयर नामसारी गरेर करारनामाअनुसार जग्गा प्लटिङ गर्नुपर्नेमा उक्त हाउजिङको नामको आफूहरुको नामको सबै सेयर करारनामाको प्रथम पक्ष भनिने जिदेन्द्र बहादुर श्रेष्ठलाई थाहै नदिई दिपेन्द्र भनिने राजेन्द्र शाक्यको नाममा सेयर बिक्री गरेर चरम जालसाजी गरेको देखिएको छ ।
२०७२ असार ५ गते जिसाको हाउजिङको सञ्चालक समितिको बैठकमा राजेन्द्र शाक्यलाई आमन्त्रित सदस्यका रुपमा उपस्थित गराई माइन्युटमा हस्ताक्षर गराएको देखिन्छ । उक्त मितिमा करारनामा नै भएको थिएन । उक्त झूठो माइन्यूट खडा गरी आमन्त्रित सदस्य शाक्यलाई जिसाको हउजिङको सबै सेयर बिक्री गरेको देखाइएको छ । २०७२ असार ५ गते उप्रेतीले राजेन्द्र शाक्यलाई जिसाको हाउजिङको सबै सेयर बिक्री गरेको भनी माइन्युट गरिएको मितिमा दिजेन्द्र बहादुर श्रेष्ठले नै बलराम उप्रेतीसँग करारनामा नै गरेका थिएनन् र हाउजिङको सेयर बिक्री गरेका पनि थिएनन् ।
दिजेन्द्रले २०७३ सालमा बलरामलाई सेयर बिक्री गरेको एक वर्षअघि नै २०७२ सालमै बलरामले उक्त सेयर राजेन्द्र शाक्यलाई बेचेको माइन्युट समेत गरेका छन् ।दिजेन्द्रसँग संयुक्त रुपमा हाउजिङ गरेर आधा–आधा बाँडेर खाने करारनामा गरेका बलरामले सबै सेयर र जग्गा राजेन्द्र शाक्यलाई बिक्री गरेर जितेन्द्रको जिसाको हाउजिङकै सबै सम्पत्ति सित्तैमा खाएका छन् र त्यही सम्पत्ति खान आफूले पाउनुअघि नै राजेन्द्र शाक्यलाई कम्पनीको सेयर बिक्री गरेको काइते निर्णय गरेका हुन् । करारनामामा नाम भएको रमेश भनिने देवी बहादुर श्रेष्ठ र दिजेन्द्र बहादुर श्रेष्ठको नामको सेयर हस्तान्तरण गरिएकी लक्ष्मी पौडेल त्यसपछिका कुनै पनि क्रियाकलापमा देखिएका छैनन् र उनीहरुलाई गायब पारिएको छ ।
देवी बहादुर श्रेष्ठ सिन्धुपाल्चोक माङ्खा–४ घर भई हाल कामनपा शंखमूल बस्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य राजेन्द्र कुमार श्रेष्ठका साहिला भाइ हुन् भने लक्ष्मी पौडेल सिन्धुपाल्चोक जिल्ला साबिक फुल्पिङकट्टी गाविस–४ की बासिन्दा हुन् । उनी नारायण पौडेलकी श्रीमती हुन् । उनीहरुको भूमिका एकाएक निस्तेज पारी उप्रेतीले हाउजिङको सबै सेयर शाक्यलाई बिक्री गरेर दिजेन्द्र बहादुर श्रेष्ठलाई जिल्याइदिएका हुन् । राजेन्द्रले हाउजिङको सबै सेयर आफ्नो नाममा आएपछि हाउजिङको नाममा रहेको स्युचाटारको ५४ रोपनी ११ आना २ पैसा जमिन पनि आफूले नै किनेको भनी आफ्नो नाममा नामसारी गराएका छन् ।
त्यसपछि शाक्यले जालसाजी गरेर लुटिएको दिजेन्द्र बहादुर श्रेष्ठको जिसाको हाउजिङमा रहेको जग्गामध्ये अधिकांश जग्गा रुप ज्योतिको नाममा खोलिएको होटल मखमली प्रा.लि. र रुप ज्योतिका छोरा अभिक ज्योतिको नाममा दर्ता भएको नेपाल जनरल मार्केटिङको नाममा विभिन्न मितिमा जग्गा बिक्री गरेका छन् ।
राजेन्द्र शाक्यले आफ्नै छोरा दिप्रश शाक्यको नाममा सारेको जिसाको हाउजिङको जग्गा २०७६ असार ३० गते होटल मखमलीको नाममा राजस्व छलेर न्यून मूल्यमा बिक्री गरेको देखाएका छन् । त्यसैगरी जिसाको हाउजिङको ठेगाना समेत नाङ्लेभारे–४ भनी गलत ठेगाना देखाई त्यसको नाममा रहेको जग्गा पनि २०७६ असार ३० गते होटल मखमलीको नाममा सारिएको छ ।
त्यसैगरी बलराम उप्रेतीको नाममा रहेको जग्गा पनि २०७६ असार २९ गते नै होटल मखमलीको नाममा नामसारी गरिएको छ । दिप्रश शाक्यको नाममा रहेको असार ३० गतेकै मितिमा होटल मखमलीको नाममा नामसारी भएको छ । त्यस्तै जिसाको हाउजिङको नाममा केही जमिन २०७६ असोज २ मा नेपाल जनरल मार्केटिङको नाममा सारिएको पाइएको छ भने राजेन्द्र शाक्य र दिप्रश शाक्यको नाममा राखिएको बाँकी जमिन पनि २०७६ असोज २ गते जनरल मार्केटिङको नाममा नामसारी भएको छ ।
उप्रेतीले साझेदारीमा प्लटिङ, हाउजिङ गर्न करारनामा गरेर लिएको जिसाको हाउजिङको जग्गा प्रथम पक्ष भनिने दिजेन्द्र हादुर श्रेष्ठलाई थाहै नदिई हाउजिङ कम्पनीको सेयर षड्यन्त्रमूलक ढंगले राजेन्द्र शाक्यलाई बिक्री गरी शाक्यले हाउजिङ कम्पनीको नाममा सबै जग्गा भटाभट बिक्री गरेर अर्काको सम्पत्ति लुटको शैलीमा सित्तैमा खाइदिएका छन् ।
यसमा उप्रेती र शाक्य मात्र होइन, रुप ज्योति पनि मिलेको देखिएको छ । यही ७ गते आर्थिक दैनिकको कार्यालयमा आएका बेला यस काण्डमा प्रमुख पात्र दिजेन्द्र भनिने राजेन्द्र शाक्यसँग यसरी पनि अर्काको सम्पत्ति लुटेर खान मिल्छ भनी प्रश्न गर्दा खान नमिल्ने बताए । उनले बलराम उप्रेतीसँग किनेको पनि बताए ।