बाँके ।
खजुरास्थित सुशिल कोइराला प्रखर अस्पताललाई आफ्नो क्षमताअनुसार सञ्चालनका लागि खजुरा गाउँपालिकाले पहल अगाडि बढाएको छ । क्यान्सर अस्पतालले अहिले क्यान्सरको पहिचानदेखि उपचारको धेरै सेवा दिइरहेको छ । तर, अस्पताल अहिले पनि आफ्नो पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । त्यसैले अस्पतालका संस्थापक अध्यक्ष समेत रहेका खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले त्यसका लागि पहल अघि बढाएका हुन् ।
अस्पताललाई फुल फेजमा सञ्चालनका लागि आवश्यक मेसिन एमआरआई र लिनायक मेसिन संघीय सरकारसँग उपलब्ध गर्न खजुरा गाउँपालिका अध्यक्ष कक्षपति काठमाडौँ पुगेका छन् । उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर अस्पतालका लागि आवश्यक एमआरआई र लिनायक मेसिनका लागि बजेट सुनिश्चित गरेका छन् ।
अध्यक्ष कक्षपतिले अस्पतालका लागि आवश्यक मेसिनरीका लागि अर्थ मन्त्रालयबाट २९ करोड ५० लाखको मेसिन सुनिश्चित गरेको जानकारी दिएका छन् । ‘बजेट सुनिश्चित भयो अब केही दिनमा स्वास्थ्य मन्त्रालयमार्फत उपकरण खरिदको प्रक्रिया अगाडि बढ्छ’, उनले भने । उक्त मेसिन क्यान्सरको सेकाइका लागि प्रयोग हुने गर्दछ ।
बजेट व्यवस्थापनका लागि खजुरा गाउँपालिकका अध्यक्ष कक्षपतिले अर्थ मन्त्रालय बजेट महाशाखाका धनिराम शर्मा लगायतसँग भटेर मेसिनरीको टेण्डर प्रक्रिया समेत सुनिश्चित गरेका छन् । त्यस्तै, खजुरा गाउँपालिकाले खजुरामा औद्योगिक ग्राम र खेलकुद विकासका लागि थप बजेट उपलब्ध गर्न पनि पहल गरेको छ ।
अध्यक्ष कक्षपतिले उद्योग राज्यमन्त्री विमला विक र उद्योग विभागका महानिर्देशक जीवलाल भुषाललाई भेटेर आवश्यक बजेट उपलब्ध गराउन पहल गरेका छन् । खजुरामा पहिलो चरणमा औद्योगिक ग्राम र खेलकुदका लागि बजेट प्राप्त भइसकेको छ । थप बजेट उपलब्धताका लागि पालिकाले पहल गरेको हो ।
त्यस्तै, पालिकाले पालिका भवनका लागि विद्यालयको क्षेत्र लिने यसअघि निर्णय गरेको छ । साबिक विद्यालयलाई अर्को विद्यालयमा गाभिएको छ । तर, शिक्षा मन्त्रालयबाट निर्णय आवश्यक भएपछि पालिकाको टिमले शिक्षा मन्त्रालयमा पनि पदाधिकारीसँग भेटेर छिटो निर्णय दिन आग्रह गरेको छ । पालिका अध्यक्ष कक्षपतिले मन्त्रालयबाट निर्णय हुनेबित्तिकै पालिकाको केन्द्रमा भौतिक पूर्वाधार निर्माणको काम सुरु हुने जानकारी दिए । यसअघि खजुरलाई औद्योगिक ग्रामका लागि प्राप्त ९२ लाख र खेलकुदका लागि प्राप्त ५० लाख खर्च भइसकेको छ ।