काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य हेमराज ढकालको सभापतित्वमा गठित स्वास्थ्य तथा सीप विकास समिति विस्तार भएको छ । समितिको सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य भक्तबहादुर हमाल र महासंघको वस्तुगत परिषद्का पूर्वसहसभापतिमा लोकनाथ गैरे चुनिएका छन् । यस्तै समितिका सदस्यहरूमा हेमराज बडाल, मृगेन्द्र मेहर श्रेष्ठ, सीताराम रेग्मी, रामेश्वर पराजुली, शंकर खड्का र राजेन्द्र बराल छन् ।
समितिमा आमन्त्रित सदस्यहरूमा नेपाल हस्तकला महासंघका उपाध्यक्ष सुनिल चित्रकार, ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उसन बज्राचार्य, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका कार्यकारिणी समिति सदस्य सदिस श्रेष्ठ, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साह, कुवेर निरौला, केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल अध्यक्ष सुरेश घिमिरे, नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश कुमार अग्रवाल र सम्यक डाइगोन्स्टिक प्रालिका अध्यक्ष डा. केयूर गौतम छन् भने महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेत, स्थानीय आर्थिक विकास समितिका सभापति सुरजकृष्ण वैद्य, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघको कार्यकारिणी समितिका सदस्य एवं कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, कार्यकारिणी समिति सदस्य सुमित केडिया र महासंघकै पूर्वकार्यसमिति सदस्यहरू कमला श्रेष्ठ, ई. विनोद ढकाल र रविन श्रेष्ठ समितिको सल्लाहकारमा चयन भएका छन् ।
उक्त समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले वैदेशिक रोजगारीमा लाखौँ युवाहरू सीपविना नै गएका कारण न्यूनतम पारिश्रमिकमा कठिन खालका काम गर्न बाध्य भएकाले महासंघको नेतृत्वमा दक्ष जनशक्ति विकासमा समितिले आफूलाई केन्द्रित गर्न सुझाव दिए । अहिले पनि नेपालमा कपाल काट्ने व्यवसायदेखि, ज्वेलरी तथा निर्माण क्षेत्रमा लाखौँ विदेशी कामदारहरूले काम गरिरहेकाले स्वदेशमै आवश्यक सीपसहित दक्षजनशक्ति उत्पादन गर्नसके हाल कार्यरत विदेशी कामदारहरूलाई प्रतिस्थापन गर्न सकिने उनले बताए ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उक्त समितिको भूमिका ठूलो रहेको भन्दै समय समयमा बैठक राखेर विभिन्न कार्यक्रमको तर्जुमा गर्नुपर्ने सुझाव दिए । महासंघको रोजगारदाता परिषद्का सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघईले अहिले पनि विदेशी दातृनिकायहरूले नेपाली कम्पनीहरूको सहकार्यमा नेपाली कामदारलाई तालिम दिदै आएको जानकारी दिँदै अबका दिनमा यस्ता विषयमा समितिले अग्रता लिनुपर्ने बताए ।
समितिका सभापति ढकालको अध्यक्षतामा बसेको पहिलो बैठकले नेपाली युवालाई क्षेत्रगत रुपमा तालिम दिएर स्वदेशमै रोजगारी सिर्जना गर्ने काम गर्ने, नेपाल सरकार शिक्षा मन्त्रालय र विभिन्न संघ/संस्थाहरूसँग समेत सहकार्य गरी नेपाली उद्योग व्यवसायका लागि आवश्यक जनशक्ति विकासका लागि आवश्यक जनशक्ति उत्पादनमा काम गर्ने, कार्यस्थलमा स्वास्थ्य तथा सुरक्षाका विषयमा आईएलओलगायतका अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समेत समन्वय गरी काम गर्नेलगायतका निर्णयहरू गरेको छ ।