अमेरिका ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पछिल्लो समय कोरोना महामारीविरुद्ध बनेका खोपले आशा जगाएको भन्दै विश्व आर्थिक वृद्धिदरको यसअघिको अनुमान संशोधन गरेको छ । आईएमएफले सन् २०२१ को लागि यसअघि गरेको वृद्धिदर अनुमान सच्याउँदै ५.५ प्रतिशतको नयाँ अनुमान प्रक्षेपण गरेको बीबीसीले जनाएको छ । कोषले सन् २०२२ का लागि उसले ४.२ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।
कोषका अनुसार विश्वमा कोरोना खोप विकास भएको, सरकारी खर्च बढाउने कदम चालिएको कारण अनुमान संशोधन गर्नुपरेको बताएको छ । अमेरिका र जापानले विशेषगरी खर्च बढाउने कदम चालेका छन् । सोही कारण दुवै देशले कोषबाट वृद्धिदर बढ्ने अनुमान पाएका छन् । यो वर्षको अन्त्यसम्म दुवै देशको वृद्धिदर महामारीअघिकै अवस्थामा फर्किनसक्ने कोषको अनुमान छ । चीनले यसअघि नै आर्थिक वृद्धिदर हासिल गर्न सफल भइसकेको छ ।
त्यस्तै भारतले पनि सोचेभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने देखिएको छ । यसका बाबजुद विकासोन्मुख देशहरु भने पर्यटन र तेल बिक्रीमा निर्भर हुने देखिएको कोषले जनाएको छ । कोषका अनुसार विकासोन्मुख देशले भन्दा विकासशील देशले चाँडै महामारीको प्रभाव हटाउने देखिएको छ । कोरोना खोपमा पाएको पहुँचले ती देशलाई सहज हुने भएको हो ।