काठमाडौं ।
विभिन्न अवरोधका कारण अन्य आयोजनाजस्तै काठमाडौं–तराई (मधेश) द्रुतमार्ग पनि समयमै सम्पन्न हुने विषयमा अन्योल बढेको छ । द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले हालसम्म ११.११ प्रतिशत मात्रै प्रगति भएको जनाएको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जंगीअड्डाका अनुसार गत आर्थिक वर्ष (०७६/०७७) र चालू आव (२०७७/०७८) मा कोरोना महामारीका कारण द्रुतमार्ग निर्माणको काम प्रभावित बनेको हो । महामारीले आयोजना निर्माणमा चुनौती थपिएको तथा गत आवमा समेत काम प्रभावित बन्न पुगेको सेनाको भनाइ छ ।
हालसम्म ११ दशमलव ११ प्रतिशत भौतिक प्रगति रहेको द्रुतमार्गको नौ दशमलव ५२ प्रतिशत वित्तीय प्रगति रहेको छ । गत आवमा भौतिकतर्फ ४२ दशमलव ८५ प्रतिशत र वित्तीयतर्फ ४२ दशमलव ८० प्रतिशत प्रगति भएको थियो । द्रुतमार्ग निर्माणको क्रममा हालसम्म १७ अर्ब ८३ करोड (पुस मसान्तसम्म) खर्च भएको छ ।
काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्बाइ ७२ दशमलव पाँच किमिमध्ये तीनवटा सुरुङमार्गको जम्मा लम्बाइ छ दशमलव ४१ किमि, विभिन्न पुलहरुको लम्बाइ १० दशमलव ५९ किमि र ढुङ्गा माटो काट्ने पुर्ने गर्नुपर्ने सडक खण्डको लम्बाइ ५५ दशमलव पाँच किमि रहेको सेनाले जनाएको छ । यसअन्तर्गत आयोजनाको ४४ दशमलव एक किमि सडक खण्डको सब–ग्रेड–लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने/पुर्ने कार्यहरु हालसम्म ८८ प्रतिशत सम्पन्न भएको छ । चालू आवको आयोजनाको कुल कार्य अंशको थप पाँच दशमलव १० प्रतिशत काम सम्पन्न गराई आयोजनाको कुल कार्यको १६ दशमलव २१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य राखिएको छ ।
द्रुतमार्ग निर्माणको क्रममा अन्तर्राष्ट्रिय परामर्शदाता छनौटको विषय विवादित बने पनि पछिल्लो समय भने काम दक्षिण कोरियाली कम्पनी छनौट भएको छ । सेनाका अनुसार काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता एम/एस योसिन इन्जिनियरङ कर्पोरेसन, दक्षिण कोरिया (योसिन जेभी)को प्रमुख नेपालमा रही यहाँका विषय विज्ञहरु समेतको टोलीद्वारा आयोजनाको फिल्ड सर्भेलगायतका कार्यहरु सुचारु गरिएको छ । हाल उक्त जेभीअन्तर्गत कोरियाबाट प्रमुखका साथै टनेल इन्जिनियर, हाइवे इन्जिनियर, ब्रिज इन्जिनियर, रोड एण्ड सेफटी विज्ञ, भूगर्भविद्लगायतले काम सुचारु गरेका छन् ।
यस्तै द्रुतमार्गका लागि आवश्यक सुरुङ निर्माणसम्बन्धी भूगर्भ तथा भूगर्भ अनुसन्धान कार्यको लागि राष्ट्रिय परामर्शदाता छनौट गरी आवश्यक काम समेत अघि बढाइएको छ । सेनाका अनुसार सुरुङ्ग निर्माणसम्बन्धी भूगर्भ तथा भूगर्भ अनुसन्धान कार्यको लागि राष्ट्रिय परामर्शदाता छनौट भई कार्य सुचारु गरिएकोमा भूगर्भ कार्य सम्पन्न भई अन्तिम प्रतिवेदन प्राप्त भएको छ ।
भूगर्भ अनुसन्धानअन्तर्गत महादेवटार (९), धेद्रे (५) र लेनडाँडा (४) गरी कुल ११ गोटा ड्रिलिङ गर्ने कार्य सम्पन्न हुनुका साथै, स्थानीय नमूनाहरुको नतिजा आउने क्रममा रहेको छ भने अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्शअनुसार थप ड्रिलिङ तथा परीक्षण गर्ने कार्य भइरहेको छ । सुरुङमार्ग निर्माणकार्यको लागि अन्तर्राष्ट्रिय परामर्शदाता योसिन जेभीद्वारा सुरुङ मार्ग प्याकेजको निर्माणकार्यको लागि आवश्यक तयार गरी बोलपत्र आह्वान गर्ने कार्य अन्तिम चरणमा रहेको सेनाको भनाइ छ ।
रुख कटानको समस्या भने समाधान भई सेनाले द्रुतमार्ग निर्माणको क्रममा आवश्यक रुख कटान तथा वृक्षरोपणको काम सँगसँगै अघि बढाएको छ । द्रुतमार्ग निर्माणको क्रममा सेनाले बागदेवको मौरीभिर इलाकामा दुई सय ६७ वटा रुख कटान गरी उक्त इलाकाको रुख कटान कार्य सम्पन्न गरेको छ ।
धेद्रे सुरुङ्गमार्गको बाहिर भागको लागि गौरीशंकर वन उपभोक्ता समितिसँग समन्वय गरी रुख कटान कार्य सुरु गरिएकोमा हालसम्म कटान गर्नुपर्ने रुख चार सय ९० वटामध्ये दुई सयवटा रुख काटिएको तथा रुख कटान भएअनुसार १ः२५ को अनुपातमा वृक्षरोपण कार्य गर्दै जाने योजनामुताबिक चालू आवको पुस मसान्तसम्म फलफूलका बिरुवाहरु १९ हजार २२ वटा र अन्य प्रजातिका बिरुवाहरु एक लाख ५७ हजार चार सय गरी कुल एक लाख ७६ हजार पाँच सयवटा बिरुवा समेत रोपिएको छ ।
यस्तै तत्काल भने द्रुतमार्ग निर्माणको क्रममा सुरुङ मार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भएअनुरुप आवश्यक थप वातावरणीय व्यवस्थापन कार्यक्रम (ईपीसी)सम्बन्धी कार्य भइरहेको छ भने जग्गा अधिग्रहणका कार्यहरु समेत अघि बढाइएको छ । द्रुतमार्गको लागि आवश्यक जग्गा अधिग्रहण गर्नका लागि प्रकाशित सूचनामध्ये हालसम्म ८४ प्रतिशत जग्गाको मुआब्जा वितरण भइसकेको छ भने १६ प्रतिशत जग्गाको मुआब्जा सम्बन्धितहरुले लैजान बाँकी रहेको छ ।
०७५ पुस १२ गते मकवानपुर जिल्लाको सूचनामा प्रकाशित ऐलानी जग्गा ४४१–९—१–० रोपनीमध्ये १०४–५–१–१ रोपनी जग्गा सडकको मध्यभागबाट दायाँ–बायाँको फैलावट) परिवर्तन भएको कारण आयोजनालाई आवश्यक नपर्ने र बाँकी ३३७–३–३–३ रोपनी जग्गाको सम्बन्धित जग्गाधनीहरुलाई मुआब्जा रकम वितरण गर्ने कार्य सम्पन्न भएको छ । खोकना इलाकाको द्रुतमार्ग रेखांकनमा पर्ने जग्गा स्थानीय विवादको कारण प्राप्तिमा बाधा परेको र सो सम्बन्धमा समस्या समाधानको लागि आवश्यक समन्वय तथा पहल हुनुको साथै हालसम्म चार सय ४५ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको सेनाले जानकारी दिएको छ ।
सेनाले द्रुतमार्गअन्तर्गत पर्ने सुरुङ्गमार्ग निर्माणको लागि अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट गरी सूची समेत सार्वजनिक गरेको छ । सुरुङ्गमार्ग निर्माणको लागि अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट गरी पुस १० गते छनौट भएका कम्पनीहरुको सूची प्रकाशन गरिएको छ भने ढुङ्गा माटो तथा संरचना निर्माणकार्य आव २०७४/०७५ मा २० वटा र आव २०७५/०७६ मा १० वटा प्याकेज गरी ३० वटा प्याकेजमा राष्ट्रिय निर्माण व्यवसायीद्वारा निर्माणकार्य सञ्चालन गरिएको थियो जसअन्तर्गत कुल ३० वटा प्याकेजहरुको ठेक्का प्याकेजमध्ये १५ वटा प्याकेजहरुको कार्य सम्पन्न भएको छ भने ४ एक्स प्याकेजहरुको न्यून प्रगति तथा साइट अवस्थाको कारण टर्मिनेसनको लागि नियमानुसारको कारबाही अगाडि बढाइएको सेनाको भनाइ छ । जसअनुरुप विश्व महामारी कोभिड १९ को सन्दर्भमा नेपाल सरकारको असार २९ गतेको निर्णयअनुसार ११ वटा प्याकेजहरुको छ महिना ठेक्का समयावधि थप गरी निर्माण कार्य सुचारु राखिएको छ ।
यस्तै सेनाले बेलिब्रिज निर्माणकार्यलाई समेत अघि बढाएको छ । महादेवटार, लेनडाँडा र धेद्रे सुरुङ्ग निर्माण तथा विभिन्न पुल निर्माणकार्यको लागि आवश्यक हुने पहुँच मार्ग तथा बेलिब्रिज प्रस्ताव निर्माणसम्बन्धी देहायअनुसार कार्य सम्पन्न भएको छ, जसअन्तर्गत धेद्रेमा प्रस्ताव तयार गरी बेली पुल लञ्च, सिस्नेरीमा, राजदमार निर्माणकार्य सम्पन्न भएको छ भने खोकनामा निर्माणाधीन कार्य भने स्थानीय विवादले रोकिन पुगेको छ ।
सरकारले चालू आवको लागि द्रुतमार्ग निर्माणको लागि पुँजीगततर्फ आठ अर्ब ८४ करोड र चालूतर्फ नौ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ । चालू आवको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनाअनुसार सेनाले द्रुतमार्ग निर्माणकार्य आगामी तीन वर्षमा सम्पन्न गर्नुपर्नेछ । यसैबीच आगामी आवमा भने द्रुतमार्गमा पर्ने जटिल प्रकृतिका पुल तथा सुरुङ्ग निर्माणकार्य प्रारम्भ गरिने तथा मुआब्जा वितरण रुख कटान तथा वृक्षरोपण कार्य समेत गरिने लक्ष्य सेनाले लिएको छ ।
समयमै निर्माणसम्पन्न गर्न सेनाले समष्टिगत कार्ययोजनाअनुसार आयोजनाको कार्यक्षेत्रलाई ११ वटा विभिन्न भागमा विभाजन गरेको छ । सेनाका अनुसार समष्टिगत कार्ययोजनाअनुसार आयोजनाको कार्यक्षेत्रलाई ११ वटा विभिन्न भागमा विभाजन गरी तोकिएकै मितिमा निर्माणसम्पन्न गर्ने लक्ष्य लिएको छ भने ईपीसी, नमूना तयार र निर्माण र सम्झौता महशुल दरमा आधारित भई ठेक्का बन्दोबस्त गर्ने योजना रहेको छ ।
यसअनुसार सुरुङ्ग मार्ग पुुल तथा एक्सप्रेस सडक निर्माण एवं सडक संरचनाको कार्य एकै सयमा सम्पादन गर्ने गरी कार्ययोजना तयार गरिनेछ । द्रुतमार्ग निर्माणको लागि भन्दै सन् १९९३ मा सम्भाव्यता अध्ययन भएको थियो तर यति लामो समय हुँदा पनि द्रुतमार्ग निर्माणको क्रममा एक चौथाइ काम पनि सम्पन्न हुनसकेको छैन जसले गर्दा तोकिएकै समयमा निर्माणसम्पन्न हुने विषयमा नेपाली नागरिक तथा सरोकारावाला निकायहरु ढुक्क हुनसक्ने अवस्था छैन ।