काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चलचित्र तथा गीत संगीत क्षेत्रलाई अझ बढी सम्मानित क्षेत्रको रुपमा स्थापित गर्न महासंघको चलचित्र तथा मनोरञ्जन फोरमलाई सुझाव दिएका छन् ।
महासंघको चलचित्र तथा मनोरञ्जन फोरम विस्तार कार्यक्रममा उनले कुनै पनि मुलुकको कला संस्कृति भनेको त्यस देशको सबैभन्दा बलियो निधि भएको बताए । अध्यक्ष गोल्छाले समग्र चलचित्र र यससँग जोडिएका अन्य व्यवसायलाई सम्मानित ढंगबाट अगाडि लैजान र सम्पूर्ण कलाकार, गीतकार, सर्जकहरुको संरक्षणमा काम गर्न समेत फोरमलाई आग्रह गरे । चलचित्र तथा गीत संगीत उद्योगले आयात गर्ने उपकरणहरूमा राज्यले विशेष छुट दिनुपर्नेमा अध्यक्षको जोड थियो ।
चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा राज्यको ध्यान जानुपर्ने भन्दै अध्यक्ष गोल्छाले यस क्षेत्रलाई अझ बढी सम्मानित क्षेत्रको रूपमा स्थापित गराउने कार्यमा फोरमले विशेष भूमिका निर्वाह गर्ने आफ्नो विश्वास रहेको बताए । कार्यक्रममा महासंघका उपाध्यक्ष अंजन श्रेष्ठले नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रलाई अर्थतन्त्रको मूल हिस्सा बनाउनेतर्फ महासंघको प्रयास हुनुपर्नेमा जोड दिए ।
विशेष गरी स्रष्टा र सर्जकहरूको संरक्षण गर्न फोरमले कार्य गर्नेमा आफू विश्वस्त रहेको र त्यसमा आफ्नो तर्फबाट पनि सहयोग हुने उनले विश्वास दिलाए । कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ पनि सहभागी थिए ।