वासिङ्टन ।
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लिकन सिनेट सदस्यहरु उभिने संकेत देखिएको छ । ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उनीविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाभियोग प्रस्ताव अद्यापि विचाराधीन छ ।
डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले भने ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित गरी सिनेटमा छलफलका लागि पठाइसकेको छ । उक्त प्रस्तावमा आगामी फेब्रुअरी ९ देखि सिनेटमा छलफल गर्नेगरी कार्यतालिका सार्वजनिक भइसकेको छ । ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित हुन कम्तीमा १७ जना रिपब्लीकन सिनेटरले डेमोक्रेट पार्टीलाई साथ र समर्थन गर्नु पर्नेछ जुन डेमोक्रेटका लागि फलामको च्यूरा चपाएसरह हुनेछ । अमेरिकी कानुन बमोजिम कुनै पनि राष्ट्रपति विरुद्धको महाभियोग पारित हुन सिनेटमा दुई तिहाई मत आवश्यक पर्दछ ।
हाल सिनेटमा रिपब्लीकन र डेमोक्रेट पार्टीबाट ५०–५० सदस्य छन् । पूर्वराष्ट्रपति ट्रम्पको कार्यकाल समाप्त भई विदा भइसकेको अवस्थामा महाभियोगमाथि छलफल गर्नुको औचित्य छैन भन्ने केन्टकी राज्यका रिपब्लिकन सिनेटर रान्ड पलको भनाईलाई सिनेटमा भएको मतदानमा ५५–४५ ले अस्वीकार गरेको थियो । मतदानपछि बोल्दै सिनेटर पलले ४५ जना सिनेटर महाभियोगको विपक्षमा रहेकाले महाभियोग प्रस्तावको संवैधानिक आधार समाप्त भइसकेको जिकिर गरेका थिए ।