काठमाडौँ ।
ज्योति विकास बैंकले १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले बुुधबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
बैंकका अनुसार कोरोना भाइरस (कोभिड १९) महामारीको जोखिमलाई मध्यनजर गर्दै सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो । सभाले बैंकको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी तीन अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ । साथै सभाले संस्थापक सेयरधनी समूहको तर्फबाट हरिप्रसाद, हरि चन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी चार वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आसार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरूउपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब ३७ अर्ब लगानी गरेको छ ।