विराटनगर ।
विराटनगरको भृकुटीचोकमा सञ्चालन हुँदै आएको अमन हार्डवेयर कर छलीको विवादबाट उम्कन नपाउँदै पुनः अर्को विवादमा तानिन पुगेको छ । अमन हार्डवेयरका सञ्चालक राजेन्द्रकुमार अग्रवालले कर छलीसँगै विभिन्न निर्माणका समानहरू अवैधरुपमा भण्डारण गरेर समयानुकूल कालोबजारी समेत गर्नेगरेको पाइएको हो ।
सञ्चालक अग्रवालले आफूसँगै छोरो कपिल अग्रवालको नामबाट विराटनगर–४ मा आलोक इन्टरप्राइजेज फर्म दर्ता गरी व्यापकरुपमा कर छली गरिरहेका नयाँ–नयाँ तथ्यहरू सार्वजनिक हुन थालेका छन् । फर्ममार्फत न्यून बिल बिजक जारी गरी आयकरसहित मूअकर समेतमा व्यापक ठगी गरेको दाबी समाचारस्रोतले गरेका छन् । अमन हार्डवेयरबाट वार्षिक १५ करोडको मात्र व्यावसायिक कारोबारको घोषणा गरेका अग्रवालले छोरो कपिल अग्रवालको नाममा दर्ता कायम भएको आलोक इन्टरप्राइजेजबाट वार्षिक आठ करोडको मात्र व्यवसायी कारोबारको विवरण बुझाएपछि अग्रवालले बुझाएको कारोबार विवरण नै शंकाको घेरामा पर्न पुगेको छ । स्रोतका अनुसार अग्रवालले विशेषगरी दुई महिनाअघि ६८ रुपैयाँ प्रतिकेजीमा खरिद गरेको छड हाल ८८ रुपैयाँमा बिक्री गरेसँगै उनी विवादमा तानिएका हुन् ।
उक्त छडहरू अग्रवालले निर्माण–सिजन सुरु हुनुअघि नै (२ महिनाअघि) खरिद गरी गोप्यरुपमा राखेको दाबी स्रोतहरूले गरेका छन् । सोही छडहरू अहिले सिजन सुरु हुनथालेपछि अग्रवालले महँगोमा बेच्दै आएको कुरा खुलेको छ । अग्रवालले छड तथा अन्य निर्माणका समग्रीहरू अग्रीम भुक्तानी गरी उद्योगमै छोडिदिने हुनाले समेत उनको अवैध स्टकबारे कसैले पत्ता लगाउन सकेको छैन । उनले छडमा मात्र नभएर निर्माणमा प्रयोग हुने सिमेन्ट, वायर, सेतो सिमेन्टजस्ता सामानहरू यसैगरी अवैध भण्डारी गरी कलोबजारी गर्दै आएको स्रोतको दाबी छ । विवादमा तानिएको अमन हार्डवेयर र आलोक इन्टरप्राइजेजका सञ्चालक बाबुछोरा नै निर्माण सामग्रीहरूमा अचाक्ली मूल्यवृद्धि गर्ने काममा अग्रपंक्तिमा रहेको व्यवसायीहरू बताउँछन् ।
व्यापारी–व्यापारीबीचको मिलेमतोमा उद्योग तथा बजारमा उपलब्ध सबै सामान उठाएर बजारमा कृत्रिम आभावको सिर्जना गर्ने काममा समेत अग्रवाल अगाडि नै हुनेगरेको उनीहरूको भनाइ छ । सस्तीएको मूल्यमा उठाएर राखेको सामानलाई नै उच्च मूल्यवृद्धि गरी महँगो मूल्यमा बिक्रीवितरणमा ल्याउने गरेको जानकाहरूले बताएका छन् । प्राय नेपालको पूर्वी बजारीमा हुने कार्टलिङको मुख्य योजनाकार समेत रहेका बाबुछोरा राजेन्द्र अग्रवाल र कपिल अग्रवाल नै निर्माण सामग्रीको मूल्यवृद्धिका समयमा निकै चर्चामा आउने गरेका छन् ।