रौतहट ।
सरकारले निर्धारण गरेको मितिमै चुनाव सम्पन्न गराउन निर्वाचन आयोगले तीव्ररुपमा तयारी थालेको छ । सोअन्तर्गत बिहीबार देशभरिका सबै स्थानीय तहमा मतदाताहरूको नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत रौतहटको सबै स्थानीय तहको केन्द्रमा पनि बिहीबार माघ १५ मतदाता नामावली तथा सोस“ग सम्बन्धित कार्यक्रम प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताए ।
जिल्लामा रहेका एक लाख ६२ हजार दुई सय ७४ महिला, एक लाख ९८ हजार तीन सय ६५ पुरुष र तेस्रोलिंगी एक जना गरी तीन लाख ६० हजार छ सय ४० जना मतदाताहरूको नामावली प्रकाशन भएको छ । अद्यावधिक र दाबीविरोध कार्यक्रम सम्पन्न भएपश्चात् मतदाताहरूको अन्तिम नामावली टुंगो लाग्ने निर्वाचन अधिकारी दासले बताए ।
जिल्ला निर्वाचन अधिकारी दासका अनुसार मतदाताहरूले आफ्नो स्थायी ठेगाना रहेको पालिका केन्द्रमा माघ १६ गतेदेखि १८ गतेसम्म मतदाता नामावलीमा आफ्नो नाम हेर्न सकिने, मतदाता नामावलीको आफ्नो नाम वा विवरणमा कुनै त्रुटि भए सच्याउन, आफ्नो नाम दोहोरो परेको भए वा मृत्यु भएकाको विवरण हटाउन निवेदन दिन सक्नेछन् । सो कार्यका लागि जिल्लास्थित सबै स्थानीय तहमा एक जना सहायक नाम दर्ता अधिकारी नियुक्त गरिएको छ ।
त्यसैगरी कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ र १७ गते स्थानीय तहको केन्द्रमा खटिएका सहायक नाम दर्ता अधिकारीसमक्ष उजुरी दिन सकिने दासले बताए । यसअघि रौतहटमा कायम रहेको दुई सय ७७ मतदानस्थल र चार सय ४९ मतदान केन्द्रमध्ये चारवटा मतदानस्थल परिवर्तन गरिएको, एउटा मतदानस्थल खारेज गरी सोही वडाको अर्को मतदानस्थलमा गाभिएको तथा दुई नयाँ थप गरी आगामी निर्वाचनको लागि दुई सय ७८ मतदानस्थल कायम हुने तथा चार सय ८१ मतदान केन्द्र हुने अनुमान गरिएको छ ।