काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले छैटौं विशेष साधारणसभा सम्पन्न गरेको छ । बैंकले सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको सभापतित्वमा बिहीबार बैंकको केन्द्रीय कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्ग, काठमाडौँमा विशेष सभा सम्पन्न गरेको हो । कोभिड १९ का कारण पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्म जुममार्फत बैंकको छैटौँ विशेष साधारणसभा सञ्चालन गरेको हो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष भण्डारीले तिनाउ मिसन डेभलपमेट बैंक लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव पारित भएको हो । सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरूको अनुमोदन गरेको छ । तिनाउ मिसनको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९६ कित्ता सेयर (१ः०.९६) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।
यसैबीच, नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसनको पनि बिहीबार नै सम्पन्न भएको वार्षिक साधारणसभाले समेत तिनाउ मिसनलाई सिटिजन्स बैंक इन्टरनेसनलले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ ।
दुवै बैंकको विशेष÷वार्षिक साधारणसभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनललाई तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो । एक महिनाभित्रमा तिनाउलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्नेगरी तयारीहरू भइरहेको सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले जानकारी दिँदै डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताका लागि सेयरधनीहरूलाई बैंक सञ्चालक समिति सम्पूर्ण सदस्यहरूको तर्फबाट आभार प्रकट गरे । यसका साथसाथै प्राप्तिपश्चात् बैंकको वित्तीय, मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे ।
२०७७ साल माघ १४ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब एक खर्ब २६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब एक खर्ब चार अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात् बैंकको कुल एक सय ६३ शाखा हुनेछ । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी नौ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।
सिटिजन्सले देशैभरि फैलिएका आफ्ना एक सय नौवटा शाखा, ९८ वटा एटीएम र एक सय सातवटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । सिटिजन्सले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली पूर्ति गरिरहेको छ ।
यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यावसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरूका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।