काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीको विवादका बारेमा छलफल गर्न निर्वाचन आयोगले शुक्रबार बोलाएको बैठकमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्ष सहभागी नभएको आयोगले जनाएको छ । आयोगले पुस १४ को निर्णयानुसार शुक्रबार छलफलका लागि प्रधानमन्त्री खड्ग प्रसाद ओली समूह र दाहाल नेपाल समूहलाई बोलाएको थियो ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेसम्बन्धी सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीका सम्बन्धमा हालसम्म गरेको कामको विषयमा छलफलका गर्न दुवै समहका अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधि र निर्वाचन तथा कानुन विषय हेर्ने प्रतिनिधि समेत ५÷५ जनाको उपस्थितिको लागि बोलाएको भए पनि तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको जानकारी पत्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट आयोगमा प्राप्त भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार उक्त पत्रमा पार्टी अध्यक्ष माधव कुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनु भई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयं उपस्थित भई छलफल गर्न चाहनुभएको हुँदा सोको लागि तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको र माघ १८ गतेपश्चात् उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्नुहुन अध्यक्षज्यूको निर्देशनबमोजिम अनुरोध गरिन्छ भन्ने जानकारी गराइएको छ ।
ओलीका तर्फबाट भने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ तथा मन्त्रीहरुसहितका प्रतिनिधिहरु आयोगमा पुगेका थिए । उनीहरुले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्त नरेन्द्र दाहाल र आयुक्त ईश्वरीप्रसाद पौड्यालको उपस्थितिमा निर्वाचनको तयारीबारे अनौपचारिक छलफल भएको थियो । छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन तयारीका सम्बन्धमा हालसम्म गरेका प्रगतिका बारेमा जानकारी गराएका थिए ।