काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा गठित पर्यटन तथा हवाइ उड्डयन समिति विस्तार भएको छ । महासंघका अनुसार समितिको सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम बोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन् ।
यसैगरी समितिको सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुँवर, नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कालाखेती, आईएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत रुद्र प्रसाद सापकोटा (विनोद) ¥याडिसन होटलका महाप्रबन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभूति चन्द ठाकुर चयन भएका छन् भने सल्लाहकारहरुमा डोल्मा कन्सल्टेन्सीका हेड अफ प्राक्टिस टुरिजम उपल मजुमदार र महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य रामशरण थपलिया चयन भएका छन् ।
समितिको आमन्त्रित सदस्यहरुमा मेरियट होटलका निर्देशक गौरव अग्रवाल, कतार एयरलाइन्सका देशीय निर्देशक मोहमद इमाम, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल, डोल्पा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य जितेन्द्र झांक्री, होटल स्नेहाका महाप्रबन्धक देवांश राणा, होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अम्रित भुजेल, ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य अपुलाल अवाले, बुद्ध रिजेन्सी प्रालिका प्रबन्धनिर्देशक नरेन्द्र गुप्ता, अर्जुन ज्वेलरीका मोहन शाह, जुम्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा, होटल मेची क्राउनका साम्राज्यमान श्रेष्ठ, होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, अलफ्ट ठमेलका निर्देशक निश्चल प्रधान, कुरियर सर्भिस एसोसिएसनका उपाध्यक्ष दुर्गा प्रसाद सुवेदी र होटल इस्टर्नका भवेश श्रेष्ठ चयन भएको महासंघले जनाएको छ ।
समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा रहेको पर्यटन सम्भाव्यताको सही अर्थमा बजारीकरण गर्नसके निकै धेरै लाभ उठाउनसक्ने बताए । नेपालमा प्रारम्भदेखि नै गुणस्तरीय पर्यटक भित्र्याउनेभन्दा पनि संख्यात्मक रुपमा धेरै पर्यटक भित्र्याउनतिर ध्यान दिँदा यसबाट लाभ उठाउन नसकेको उनको भनाइ थियो । उनले अबको ध्यान सशक्त बजारीकरणका साथ गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ हुनुपर्ने र यसमा महासंघको पर्यटन तथा हवाइ उड्डयन समितिले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘नेपालमा अथाह सम्भाव्यता छ, हाम्रा प्रोडक्टहरू पनि पर्याप्त छन् तर हामी त्रिकोणीय क्षेत्र (पोखरा–काठमाडौं–चितवन) भित्रै हरायौँ, अब हामीले नयाँ नयाँ गन्तव्यहरुलाई उजार गर्नुपर्छ, प्रचारप्रसार गर्नुपर्छ अनिमात्र लाभ उठाउन सक्छौँ र त्यसमा समितिले अर्थपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा मैले गरेको छु ।’ महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोभिडले धराशायी भएको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन समितिबाट महत्वपूर्ण पहल हुने भन्दै त्यसमा आफूबाट पूर्ण सहयोग रहने विश्वास दिलाए ।
यस्तै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महासंघका सबै सदस्यहरुलाई विशेष छुट दिने स्किम होटल, रिसोर्ट, लजहरुले ल्याउनुपर्ने सुझाव दिए । साथै सभापति श्रेष्ठको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले समितिको कामलाई परिणाममुखी बनाउन विमानस्थलहरुको सही व्यवस्थापन तथा संचालन, प्रदेशमा पर्यटन विकास, तालिम तथा सिकाइ र गन्तव्य नेपाल प्रवद्र्धन तथा बजारीकरण क्षेत्रहरु छुट्याई उपसमिति गठन गरी कार्य गर्ने निर्णय समेत गरेको छ ।