दुबई, पुस २१
गत शुक्रबार अमेरिकी सेनाको कारबाहीमा इरानी कुद्स सेनाका प्रमुख कमान्डर मारिएपछि बढेको इरान–अमेरिकाको तनावसँगै खाडी देशका सेयरबजार ओरालो लागेका छन् । आइतबार कुवेती र साउदी सेयरबजारमा गिरावट आएको छ । शुक्रबार इरानी कमान्डरलाई अमेरिकी सेनाले इराकको बग्दादमा ड्रोनबाट रकेट आक्रमण गरी मारिदिएपछि यस क्षेत्र अहिले अशान्त अवस्थामा छ ।
रोयटर्सका अनुसार सोही कारण ठूलो तेल उत्पादनकर्ता साउदी अराम्कोको सेयर आईपीओ जारी भएयताकै न्यूनविन्दुमा झरेको छ । कम्पनीको सेयर १.७ प्रतिशतले घटेको हो । गत महिना प्रथम सार्वजनिक निष्काशन गरेको कम्पनीको सेयर प्रतिकित्ता ३४.५५ रियाल पुगेको छ । इरानी सेनाको विदेश हेर्ने महत्वपूर्ण जिम्मेवारी पाएका कासिम सुलेमानीको मृत्युसँगै इरानले अमेरिकाविरुद्ध बदलाको धम्की सुरु गरेका कारण खाडी क्षेत्र थप अस्थिर बनेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
सोही कारण कुवेती सेयरबजार पनि ४.१ प्रतिशतले घटेको छ भने साउदी सेयरबजारमा २.२ प्रतिशतको गिरावट देखिएको छ । दुवईको सेयरबजार पनि ३.१ प्रतिशतले घट्दा पोपर्टी फर्म एमार प्रोपर्टीको सेयर ३.७ प्रतिशतले घटेको छ । त्यस्तै आबुधाबी सूचक पनि १.४१ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बैंकहरुको सेयर पनि घटेको छ । अल राझी बैंकको सेयर २ प्रतिशतले घट्दा साम्बा फाइनान्सियल ग्रुपको ३ प्रतिशतले गिरावट आएको छ । पछिल्लो तनावले विश्वबजारमा तेल, सुनलगायतका वस्तुमा मूल्य वृद्धि हुनसक्नेछ ।