धनगढी ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसविरुद्धको खोप सात हजारभन्दा बढीले लगाएका छन् । आइतबार मात्रै प्रदेशमा झण्डै एक हजार सात सय जना स्वास्थ्यकर्मीले खोप लगाएका छन् । प्रदेशका १० वटा खोप केन्द्रमार्फत आइतबार एक हजार छ सय ८८ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।
कार्कीका अनुसार आइतबार सेती प्रादेशिक अस्पताल खोप केन्द्रमार्फत दुई सय ४६ र टीकापुर अस्पतालबाट ८० जनाले खोप लगाएका छन् । यस्तै, बैतडीमा दुई सय ३७, बझाङमा एक सय ६०, बाजुरामा ७७, डडेल्धुरामा एक सय ८०, दार्चुलामा ९४ जना, डोटीमा दुई सय ३४ जना र कञ्चनपुरका एक सय ४१ जना स्वास्थ्यकर्मीलाई खोप लगाएको कार्कीले बताए ।
योसँगै सुदूरपश्चिममा कोरोना भाइरसविरुद्ध पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या सात हजार ६३ पुगेको छ । यसैबीच, आइतबार सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको परीक्षण भएको छैन । प्रदेशका छवटै अस्पतालका प्रयोगशालाबाट आइतबार कोरोना परीक्षण नभएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी कार्कीले बताए ।