बारा, पुस २२
किर्ते नागरिकता बनाई मनी ट्रान्सफरबाट पैसा निकाल्ने दुुई व्यक्तिहरु पक्राउ परेका छन् । कलैया उपमहानगरपालिकास्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा दुुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुुसार पक्राउ पर्नेहरुमा रौतहट गरुडा नगरपालिका ४ बस्ने २६ वर्षीय सुरेन्द्र साह र गढीमाई नगरपालिका गमरिया टोल बस्ने श्याम चौधरी रहेका छन् ।
उनीहरुले सिम्रौनगढ नगरपालिका कचोर्वा घर भई हाल मलेसिया बस्ने कृष्ण साहसँग मिली किर्ते नागरिकता बनाई शिवम् मनि ट्रान्सफरबाट ९५ हजार रुपैयाँ निकाल्दै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरुले प्रसौनी गाउँपालिका ६ प्रस्टोका बस्ने एक व्यक्तिको नाममा न्यू एशियन मनि ट्रान्सफरबाट एक लाख रुपैयाँ र खजान टोल बस्ने एक व्यक्तिको नाममा आरके इण्टरप्राइजेजबाट ६० हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।