काभ्रे ।
मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो । नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उनी जनश्रमदानमा जुटेकी हुन् । अहिले पञ्चकुमारीसँगै गाउँका महिला–पुरुष दिनहुँ नमूना बस्तीमा सकेको काम गर्दै आएका छन् ।
‘गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम गर्न आउँछौँ’, उनले भनिन् । उनले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि आएको पहिलो किस्ताको ५० हजार रूपैयाँ पनि सोही बस्ती निर्माणमा दिएकी छन् । हाल स्थानीय युवा वीरेश तामाङको दैनिकी पनि बस्ती निर्माणमा सकेजानेको काममा बितिरहेको छ । उनी भन्छन्, ‘हामी सय दिनभन्दा बढी जनश्रमदानमा जुटेका धेरै छौँ, सुन्दर बस्ती बनाउने योजनामा भरपुर साथ दिइरहेका छौँ ।’
उनले संवाद समूहसँगको छलफलमा स्थानीय भूकम्पपीडितलाई आवास निर्माणका लागि कारितास् नामक संस्थाले सरकारसँग सम्झौता गरी तीन वर्षअघि पहिलो किस्ताको ५० हजार रूपैयाँ दिएको र अन्य किस्ताका लागि समन्वय नगर्दा अहिले ऋण गरेर निर्माणलाई निरन्तरता दिनुपरेको बताए । बजेट अभावले बस्ती निर्माणमा समस्या देखिएपछि संवाद समूह काभ्रेपलाञ्चोकले यसबारे छलफल गरेको थियो ।
बस्ती निर्माणका लागि स्थानीयवासी ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको ५० हजार रूपैयाँ खर्चिएको छ । स्थानीय अगुवा रामबहादुर तामाङले सरकारबाट प्राप्त हुने आवास निर्माणका रकम आएपछि तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होमस्टेसहितको नमूना तामाङ बस्तीको परिकल्पना गरिएको बताए । ‘तर एक संस्थाले पहिलो किस्ता दिएर लथालिङ्ग छाडेर हिँड्यो, तर पनि हामीले अब सरकारबाट बाँकी किस्ता नआउन्जेल ऋण गरेर काम सुचारु गरेका छौँ’, उनले भने । उनका अनुसार हाल ६५ लाख रूपैयाँ ऋण भइसकेको छ । लामाले भने, ‘बजेट आएलगत्तै ऋण तिर्दै जानेछौँ ।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका परामर्शदाता राजकुमार कुँवरले तीनधाराका भूकम्पपीडितका लागि बाँकी दुई किस्ता सरकारमार्फत दिलाउने प्रक्रिया अन्तिम चरणमा पुगेकाले यही माघ महिनाभित्र दोस्रो किस्ताबापत प्रतिपरिवार एक लाख ५० हजार रूपैयाँ आउने जानकारी दिए ।
भूकम्पपीडित परिवारको थप किस्तासँगै नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने एक करोड २० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । ‘विनियोजित रकम सम्झौताअनुसार आउने क्रममै छ’, उनले भने । कारितास नेपालका कार्यक्रम शाखा प्रमुख मणिन्द्र मल्लले स्थानीय भूकम्पपीडितलाई दोस्रो किस्ता दिने बेला परियोजनाको अवधि पनि सकिएकाले पुनर्निर्माण प्राधिकरणमा रितपूर्वक कागजात पेश गरेको दाबी गरे ।
काभ्रेको मण्डनदेउपुर नपा–१० स्थित चण्डेनी तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होमस्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको हो । यसका लागि ह्याविट्याट फर ह्युम्यानिटिक नामक संस्थाले प्राविधिक सहयोग गरेको छ । हाल बस्तीका लागि छ घरको छानो लगाउने काम सकिएको छ भने चार घर छाउने तयारीमा छ । तीनकोठे एक तले एकै डिजाइनका एक घर निर्माणसम्पन्न गर्न ११ लाख रूपैयाँ लाग्ने बस्ती निर्माण समितिका अध्यक्ष आइतमान तामाङले जानकारी दिए ।
उनका अनुसार नगर कार्यालयले १० लाख रूपैयाँ थप सहयोग उपलब्ध गराएको छ । ‘घर निर्माणको लागि आवश्यक ब्लक यहीँ नै निर्माण गरिरहेका छौँ’, उनले भने, ‘बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होमस्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्नेछ । नमूना बस्तीमा एक सामुदायिक भवन निर्माण गर्ने योजना छ ।
सामुदायिक भवन निर्माणका लागि ४० लाख रूपैयाँ छुट्याइएको छ ।’ सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिँकी, डम्फु, ढ्याङग्रोलगायतका सामग्री संग्रहित गरिने तथा यसबारे जानकारीसमेत दिइने उनले बताए ।