काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आवश्यक पर्ने खर्चमा कुनै अभाव नहुने बताएका छन् । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापनलगायतका विषयमा मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा उनले आवश्यक बजेट सरकारले उपलब्ध गराउने बताए ।
अर्थमन्त्री पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगबाट भइरहेको तयारी सकारात्मक रहेको समेत बताए । स्वच्छ, स्वतन्त्र, निश्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनका लागि आवश्यक बजेट नेपाल सरकारले उपलब्ध गराउने भन्दै उनले बजेटको अभाव हुन्छ कि भन्ने चिन्ता नगर्न आयोगलाई आग्रह गरे ।
साथै उनले सरकारको नीतिअनुसार वैदेशिक सहायताका सन्दर्भमा समेत अर्थ मन्त्रालयबाट पूर्ण सहयोग हुने बताए । कोभिड १९ को महामारीको समयमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्नुपरेकोले सबै प्रकारका खर्चमा मितव्ययिता, पारदर्शिता र जवाफदेहितामा समेत आयोगले ध्यान दिनुपर्ने तथा निर्वाचन व्यवस्थापनका सबै कार्यहरू व्यवस्थित र योजनाबद्ध रहनुपर्नेमा उनले जोड दिए । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका लागि आयोगबाट भइरहेका व्यवस्थापकीय कार्यहरूको बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
उनले निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्न गराउन एवं विगतका निर्वाचनका तुलनामा मितव्ययी रूपमा खर्च गर्न र लागत प्रभावकारी रूपमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए । निर्वाचनलाई अत्यन्त मितव्ययी र प्रभावकारी ढंगले सम्पन्न गर्न आयोगले सोहीअनुसार तयारी गरिरहेको भए पनि आगामी निर्वाचनमा कोरोना भाइरसको संक्रमणलाई समेत मध्यनजर गरी सबै किसिमका निर्वाचनसम्बन्धी गतिविधिहरू सञ्चालन गर्नुपर्ने भएकोले विगतको निर्वाचनका तुलनामा बजेट व्यवस्थापनमा नयाँ र थप दबाब सिर्जना भएको उनले बताए ।
उक्त छलफलमा निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले निर्वाचन आयोग ऐन, २०७३ को दफा २८ को व्यवस्थाअनुसार आयोगबाट तयार गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आर्थिक सञ्चालन कार्यविधि, २०७७ यसै हप्ता आयोगबाट स्वीकृत हुने र सोपश्चात् आयोग, १६५ निर्वाचन क्षेत्र र ७७ वटा जिल्ला निर्वाचन कार्यालयलाई निर्वाचन सञ्चालन एवं व्यवस्थापनसम्बन्धी बजेट विनियोजन गरी सोहीअनुसार खर्चको लेखांकन हुने बताए । सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने घोषणा गरेको छ ।