काठमाडौं ।
प्रस्तावित नेपाल सहकारी बैंकको दर्ता प्रक्रिया सुरु गरिएको छ । बैंकको तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीसहितको २५ सदस्यीय टोली र अन्य सहकारीकर्मीले सहकारी विभागमा आइतबार फाइल पेश गरेका छन् ।
प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले सम्पूर्ण कागजातसहित प्रक्रिया पूरा गरी बैंक दर्ता गर्न पाँच सय ६९ फाइल विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरेका थिए । फाइल बुझाउने कार्यक्रममा नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्वमन्त्री आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेलसहितको सहभागिता रहेको थियो ।
रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रिया अघि बढाउने जानकारी दिए । दर्ता भएका फाइलहरूको जाँचबुझ गरी अपुग भएमा फेरि कागजात मागेर प्रक्रिया थाल्ने उनले बताए । बैंक दर्ता प्रक्रियामा विभागले सहयोग गर्ने उनको भनाइ थियो । बैंक दर्ताको लागि पाँच सय एक फाइल आवश्यक पर्नेमा पाँच सय छ फाइल तयार गरी विभागमा पेश गरिएको थियो । दर्ताका लागि नौ सय ७५ फाइल तयार भएका थिए ।
बैंक स्थापना गर्न तीन अर्ब पुँजी आवश्यक पर्नेमा आठ अर्ब पुजीँ तयार भएको प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले जानकारी दिए । उनले भने, ‘विभागले फाइल अध्ययन गरी प्रक्रिया सुरु गर्नेछ । बैंक दर्ताको लागि सहकारी महासंघले सहमति दिनुपर्नेछ । ऐनअनुसार बैंकको स्वीकृति नेपाल राष्ट्र बैंकले दिनेछ ।’ माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले सम्पूर्ण प्रक्रिया पूरा गरी दर्ता प्रक्रिया अघि बढाएको थियो ।
भेलालगत्तै गत बिहीबार सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय सञ्चालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिएको थियो । देशभरका करिब एक हजार सहकारी संस्था रहेको बैंक दर्ता हुने भएको छ । विभागले स्वीकृत दिएलगत्तै राष्ट्र बैंकले सहकारी क्षेत्र समेट्नेगरी दोस्रो सहकारी बैंक स्थापना गर्न अनुमति दिनेछ । सहकारी ऐन २०७४ र नियमावली २०७५ को आधारमा बैंक दर्ता प्रक्रिया अघि बढाइएको हो । करिब एक वर्षअघिदेखि नै बैंक दर्ता गर्न प्रक्रिया सुरु गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
प्रस्तावित बैंकको सञ्चालक समितिमा झापाबाट दुर्गाप्रसाद सापकोटा, सर्लाहीबाट नागेन्द्रकुमार, पर्साबाट राजेन्द्रप्रसाद जयसवाल र विनोदकुमार दत्त, भक्तपुरबाट विदुरमान सिं बस्नेत, चितवनबाट दिनेश चुके, गोरखाबाट हरिमान अधिकारी, कास्कीबाट ध्रुवराज पौडेल, स्याङ्जाबाट केशवप्रसाद लम्साल, बाँकेबाट ललित पहाडी, सुर्खेतबाट पदम दाहाल, कैलालीबाट तुलसा देवकोटा र काभ्रेबाट गिता सिग्देल दाहाल सदस्य रहेका छन् । यस्तै काठमाडौँबाट शम्भुप्रसाद घिमिरे, राममान सिंह महर्जन, पुष्पबहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, डा. ज्ञानेन्द्रप्रसाद पौडेल र दिलिप पौडेल, ललितपुरबाट माधव दुलाल, सरदकुमार महर्जन, शशि खड्का र विनोद डंगोल समितिको सदस्य रहेका छन् ।