युरोप, पुस २२
मध्यपूर्वमा एक्कासि बढेको तनावले कच्चा तेलको मूल्य तीव्र रुपमा बढेको छ । सोमबार कच्चा तेल प्रतिब्यारेल ७० डलर माथि पुगेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । ब्रेन्ट क्रुड २.४ प्रतिशतले बढेर ७०.२४ डलर प्रतिब्यारेल पुगेको छ । यो मूल्य गत छ महिनायताकै उच्च हो । अमेरिकी कच्चा तेलको मूल्य पनि २.१ प्रतिशतले बढेर ६४.३६ डलर प्रतिब्यारेल पुगेको छ । अमेरिकी सेनाको कारबाहीमा इराकी राजधानी सहर बग्दादमा इरानी सेनाका कमान्डर कासिम सुलेमानीको मृत्यु भएसँगै मध्यपूर्वमा दिनप्रतिदिन तनाव बढेको छ ।
अमेरिकाले मध्यपूर्वमा थप अशान्ति फैलाए इरानविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिइरहेको छ । कासिम मारिएको दिन नै कच्चा तेलको मूल्य ३ प्रतिशतले बढेको थियो । मध्यपूर्व कच्चा तेलको मुख्य उत्पादन हुने क्षेत्र भएकाले यो घटनाले खाडीमा तरंग मच्चाएको छ । तेलको मूल्यमात्र हैन, सेयरबजारमा पनि उत्तिकै प्रभाव परेको छ । उक्त घटनाले विश्व सेयरबजार गिरावटतर्फ अग्रसर देखिएको छ ।
सोमबार दक्षिण कोरियाको कोस्पी शून्य दशमलव ८ प्रतिशतले ओरालो लाग्दा हंगकंगको हांगसेंग सूचक शून्य दशमलव ७ प्रतिशतले झरेको छ । चीनको सांघाई कम्पोसाइट पनि सूचक घटेर सुरु भएको थियो । तर पछि हरियो भएको थियो । जापानको निक्की २२५ २.१ प्रतिशतले घटेको छ भने अन्यत्र बजारमा पनि उतारचढाव आएको छ ।