काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले ११ वटा कम्पनीहरुको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेका अनुसार धितोपत्र बोर्डका पत्रकार आधारमा आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण पेस नगरेका आधारमा साताको दोस्रो कारोबार दिन सोमबारबाट सातवटा हाइड्रोपावर कम्पनी, एउटा बीमा कम्पनी र तीनवटा लघुवित्त वित्तीय संस्थाहरुको सेयर कारोबार रोक्का गरिएको हो ।
यसरी कारोबार रोक्का गरिएका कम्पनीहरुमा नेपाल हाइड्रोपावर डेभलपर लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, राधी विद्युत् कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर कम्पनी छन् । यसैगरी बीमाअन्तर्गत भने गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको पनि सेयर कारोबार रोक्का भएको छ ।
लघुवित्ततर्फ भने कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डले यी कम्पनीहरुले हालसम्म पनि आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण पेश नगरेको भन्ने बोर्डको पत्रका आधारमा धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार कारोबार रोक्का गरिएको हो ।
बढ्यो विदेशी विनिमय सञ्चिति : मुुलुकको कुुल विदेशी मुद्रा सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति छ दशमलव छ प्रतिशतले बढेर २०७७ पुस मसान्तमा १४ खर्ब ९३ अर्ब ७५ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ पुस मसान्तमा नौ दशमलव सात प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ पुसमसान्तमा सात दशमलव पाँच प्रतिशतले वृद्धि भई १३ खर्ब १८ अर्ब ६६ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ पुस मसान्तमा शून्य दशमलव प्रतिशतले कमी आई एक खर्ब ७५ अर्ब नौ करोड कायम भएको छ । २०७७ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव सात प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।