सोलुखुम्बु ।
जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा कार्यरत एक जना कर्मचारीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको छ । कार्यालयमा हुलाकीका रूपमा कार्यरत सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ नयाँबजारका राम श्रेष्ठको शनिबार राति लामजुरा जङ्गलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चिठी पु-याउन गएका उनको चिसोका कारण मृत्यु भएको बताइएको छ । शनिबारको हिमपातका कारण उनको ज्यान गएको प्रहरीको भनाइ छ । हिउँ परेपछि श्रेष्ठ र उनका ज्वाइँ प्रकाश राई ओडारमा बास बसेको बताइएको छ ।
ओडारमा चिसोका कारण कठ्याङ्ग्र्रिएर गम्भीर बिरामी परेका श्रेष्ठको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । लिखुपिके गाउँपालिकामा चिठी पु-याएर फर्कने क्रममा श्रेष्ठको ज्यान गएको प्रहरीको भनाइ छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । पोस्टमार्टम गरेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।