काठमाडौं ।
सरकारले यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ट्याक्सी, बस, कारलगायतका सार्वजनिक सवारीसाधन सञ्चालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउने बताए । सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको सामूहिक भेटमा उनले ग्राहकलाई ठगिन नदिन तथा सडक जामलगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे ।
मन्त्री गुरुङले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सवारीसाधनहरुको सञ्चालन र व्यवस्थापन गर्न सवारी चालकहरुलाई आग्रह समेत गरे । सामाजिक सेवाको भावनाअनुसार बिरामीहरुलाई निःशुुल्क सेवा दिन पनि उनले सवारी चालकहरुको ध्यानाकर्षण गराए । समाजका अध्यक्ष पूर्णलाल मोक्तानले जथाभावी भाडा असुली गरिरहेका तथा ऐनविपरीत सञ्चालनका आएका निजी कार, भ्यान, जिपको अनुगमन गरी कारबाही गर्न माग गरेका थिए ।
जवाफमा मन्त्री गुरुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यातायात ऐन प्रतिकूल हुने गरी सञ्चालनका आएका सवारीसाधनहरुको व्यवस्थापनमा लागिपर्ने बताए । भेटमा समाजले समयसापेक्ष सार्वजनिक सवारीसाधनको भाडादरमा समायोजन गर्न, चालक तथा चालक मजदुरुहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्नेलगायतका १४ बुँदे मागसहितको ज्ञापनपत्र मन्त्री गुरुङलाई बुझाएको थियो ।